
पूर्णपुष्टि, फागुन १८
आज सेयर बजार घटेर राताम्मे देखिएको छ । सेयर कारोबार मापक नेप्से परिसूचक ५९.७० अंकले ओरालो लागेको छ ।
नेप्से परिसूचक ५९.७० अंकले घटेर २ हजार ४ सय ५५.३३ अंकमा झरेको छ । ‘क’ वर्गका कम्पनीहरुको कारोबार मापन गर्ने सेन्सेटिभ इन्डेक्स पनि ९.८० अंकले ओरालो लागेको छ ।
नेप्से परिसूचकमात्रै होइन कारोबार रकम पनि गिरावट आएको छ । सोमबारको तुलनामा कारोबार रकम ५० करोड रुपैयाँ भन्दा कम भएको छ । बुधबार कारोबार रकम ६ अर्ब ११ करोड ९६ लाख ३८ हजार ६ सय ६९ रुपैयाँमा सिमित भयो ।
नेप्सेमा कारोबार हुने १३ सबइन्डेक्स मध्ये २ वटा भने बढेर हरियो देखिएका छन् । नेप्से परिसूचक ५९ अंक भन्दा धेरैले घट्दा पनि व्यापार समूहको सव इन्डेक्स ९.१८ प्रतिशत अर्थात २ सय ७८.४९ अंकले बढेको छ ।
अर्को होटल एण्ड पर्यटन समूहको सवइन्डेक्स पनि ०.८ प्रतिशत अर्थात १६.८६ अंकल बढेको छ । यी दुई समूह बढेपनि अन्य सबै समूह घट्दा समग्रमा बजार घटेको छ । बैंकिङ समूहको सबइन्डेक्स २.५० अंकले घटेको छ भने विकास बैंक २.३३ र जलविद्युत २.०८ अंकले घटेको छ ।
यसैगरी फाइनान्स १.९८, निर्जिवन बिमा २.६५, उत्पादनमूलक २.७६, लघुवित्त २.६१ र अन्य समूह २.१२ अंकले घटेका छन् ।
