Sunday, June 28News That Matters

नेप्से बढ्दा कारोबार रकम घट्यो

पूर्णपुष्टि, चैत ३ गते । 

केहि दिनदेखि अस्थिर रहँदै आएको शेयर बजार परिसूचक नेप्से आज सामान्य बढेको छ । हिजो ६४ अङ्कले घटेको नेप्से सोमबार ३ दशमलव ३५ अङ्कले बढेर १३ सय १६ दशमलव ३९ बिन्दुमा पुगेको हो ।

कारोबार भएको साढे दुई घण्टासम्म ओरालो लागेको नेप्से त्यसपछि भने सुधार हुँदै गएको थियो । होटल, उत्पादन र साझेदारी कोष समूहको शेयर सामान्य घटे पनि अरु समूहको शेयर सामान्य उकालो लागेको छ ।

त्यस्तै जीवन बीमा समूहको शेयर ४८, निर्जीवन बीमा समूहको शेयर ५३ अङ्क र माइक्रोफाइनान्स समूहको शेयर २३ अङ्कले बढेको छ  । सबैभन्दा धेरै नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको १५ करोड ४० लाख रुपैयाँको शेयर कारोबार भएको छ । सिभिल लघुवित्त वित्तीय संस्थाका शेयरधनीले सबैभन्दा धेरै झण्डै १० प्रतिशत कमाएका छन् भने युनिलिभर नेपाल लिमिटेडका शेयरधनीले सबैभन्दा धेरै झण्डै ६ प्रतिशत गुमाएका छन् ।

नेप्से बढे पनि सोमबार कारोबार रकम भने घटेको छ । आइतबार दुई अर्ब १० करोड रुपैयाँको शेयर किनबेच भएकोमा सोमबार एक सय ८० कम्पनीका एक अर्ब ६१ करोड रुपैयाँ बराबरका ४१ लाख ९१ हजार कित्ता शेयरको कारोबार भएको छ ।