
पूर्णपुष्टि, माघ ९
पठाओ राईडर उदयपुर गाईघाटका प्रविन राई काठमाण्डौमा लुटिएको छ । उदयपुर गाईघाट घर भई हाल काठमाण्डौँमा पठाओ राईडरको काम गरिरहेको प्रविन राईलाई हात बाँधेर झाडीमा फाली मोवाईल र मोटरसाईकल लुटपाट गरेको आरोमा दुई युवालाई प्रहरीले पक्राउ गरेको छ ।
महानगरीय प्रहरी वृत्त सातदोबाटोले लुटपाट गरेको आरोपमा दुई जनालाई पक्राउ गरेको महानगरीय प्रहरी परिसर ललितपुरका प्रहरी उपरीक्षक शिद्धिबिक्रम शाहले जानकारी दिए । पक्राउ पर्नेमा सिन्धुलीका २१ वर्षीय सुमन तामाङ र खोटाङको हलेसीका २६ वर्षीय मनराज राई छन्।
उनिहरुले राईलाई शनिवार राति एकान्त झाडीमा फालेर कुटपिट समेत गरी मोटरसाईकल र मोवाईल लुटेर भागेका थिए । घटना शनिबार राति ११ बजेको हो । प्रहरी उपरीक्षक शाहका अनुसार सुमन काठमाडौंको कोटेश्वरबाट धापाखेल जान खोज्दै थिए ।

उनले त्यसको लागि पठाओ राइडरलाई बोलाए । उनलाई लिन राति पठाओ राइडर प्रविन आए । प्रविन बागमती प्रदेश ०२०(०१(००१ प ११६६ नम्बरको एनएस पल्सर मोटरसाइकल लिएर यात्रु लिन आए। सुमनले राइडरलाई आफू सानेपा जाने भनेका रहेछन्।
उनले सुमनलाई कोटेश्वरबाट ललितपुर महानगरपालिका(२४ धापाखेलस्थित आँखीदहमा पुर्याइदिए। तर त्यहाँ मिनराज राई पहिल्यै कुरेर बसेको प्रहरी उपरीक्षक शाहले बताए।
‘चालकलाई सानेपा जाने भनेर धापाखेल लगेका रहेछन्,’ उनले भने, ‘सुमन यात्रु नै बनेर गएका थिए। कुनै चिनजान थिएन।’
त्यसपछि दुई जनाले मिलेर प्रविनलाई कुटपिट गरेका थिए । कुटपिटपछि उनीहरूले प्रविनको हात पछाडिबाट बाँधिदिएका थिए। उनको मुखमा पनि पट्टी लगाएर सडकबाट तल एकान्त झाडीमा फालेर दुबै जना मोटरसाइकल लिएर फरार भएको परिसरले जनाएको छ।

प्रविनले घटनाबारे प्रहरीलाई जानकारी दिएपछि सातदोबाटो वृत्तबाट प्रहरी नायब उपरीक्षक दिनेश घिमिरे र परिसरबाट संयुक्त रूपमा टोली खटिएको थियो । प्रहरीले अनुसन्धान गरी काठमाडौंको बलम्बुस्थित चन्द्रागिरि रिकन्डिसन सो रूममा मोटरसाइकल फेला पारेको थियो। त्यस्तै त्यही रिकन्डिसन सो रूममा मोटरसाइकल बेच्दै गरेको अवस्थामा प्रहरीले उनीहरूलाई नियन्त्रणमा लिएको प्रहरी उपरीक्षक शाहले बताए।

