
भदौ १६ गते ।
समाजमा उठेको विभिन्न प्रश्नको विच कानुनमै पत्रकारको योग्यता तोक्न सांसदहरुले मिडिया काउन्सिल विधेयकमा संशोधन दर्ता गराएका छन् ।
सत्तारुढ दल नेकपाका १४ जना सांसदले आईतबार संसद सचिवालयमा दर्ता गराएको संशोधन प्रस्तावमा पत्रकारिता पेशामा प्रवेश गर्नका लागि परीक्षा लिनुपर्ने उल्लेख गरिएको छ । पत्रकारिता व्यवसायी परीक्षा भनिने परीक्षा मिडिया काउन्सिल अन्तर्गतको परीक्षा समितिले लिनेछ ।
वर्षमा दुई पटक लिईने प्रवधानको साथ यसका लागि पाठ्यक्रम काउन्सिलले नै तयार गर्ने संशोधन प्रस्तावमा उल्लेख छ ।
‘काउन्सिलले पत्रकारिता व्यवसायी परीक्षाको पाठ्यक्रम, स्तर र प्रणाली निर्धारण गर्नेछ । यससम्बन्धी पत्रकारिताको विषयको अध्ययन अध्यापन शैक्षिक संस्थाहरुको आवश्यक सहयोग काउन्सिलले लिने संशोधन प्रस्तावमा उल्लेख गरिएको छ ।’
पत्रकार बन्ने व्यक्तिले मौखिक र लिखित दुवै परीक्षा दिनुपर्ने संशोधनमा उल्लेख गरिएको छ । पत्रकारको रुपमा दर्ता हुन पत्रकारिता विषयमा स्नातक उपाधी भएको हुनुपर्ने वा अन्य कुनै विषयमा स्नातक गरेको भए तीन वर्ष काम गरेको हुनुपर्ने वा निरन्तर सञ्चार प्रतिनिधि भई पाँच वर्ष काम गरेको हुनुपर्नेछ ।
पत्रकारिता व्यवसायी परीक्षा उतीर्ण गर्नु पर्ने र नैतिक पतन देखिने फौजदारी अभियोगमा सजाय पाएका हुनु नहुने प्रावधान विधेयकमाथिको संशोधन प्रस्तावमा उल्लेख गरिएको छ ।
