पूर्णपुष्टि, कार्तिक २५ गते ।
पत्रकार सरोजराज अधिकारी काठमाडौंको एक होटलमा झुन्डिएको अवस्थामा मृत फेला परेका छन् । अधिकारी बुधबार साँझ सुन्धाराको एक होटलमा मृत फेला परेका जिल्ला प्रहरी परिसर काठमाडौंका एसएसपी भरत बोहोराले बताए ।
एसएसपी बोहोराका अनुसार अधिकारी कात्तिक २१ गतेदेखि घरबाट निस्केका थिए । उनी घर नफर्केपछि बुधबार उनकी श्रीमतीले प्रहरीमा निवदेन दिएकी थिइन् ।
प्रहरीका अनुसार निवेदन परेपछि अधिकारीको मोबाइल टर्याक गर्दा सुन्धारको एक होटलमा देखियो । होटलमा उनको नाम इन्ट्री गरिएको थियो । प्रहरी तथा उनकी श्रीमती कोठामा गई जाँच गर्दा अधिकारी पंखामा झुन्डिएको अवस्थामा फेला परेको प्रहरी परिसर काठमाडौंले जनाएको छ ।
अधिकारीको मृत्यु ६ बजेदेखि ७ बजेभित्र भएको अनुमान भए पनि उनी दुई दिनदेखि त्यहीँ बसेको देखिएकाले यकिन नभइसकेको प्रहरीले जनाएको छ । अधिकारीले आत्महत्या गरेको प्रहरीको प्रारम्भिक अनुमान छ । प्रहरीले घटनाबारे थप अनुसन्धान सुरू गरेको जनाएको छ ।
कान्तिपुर, नयाँ पत्रिका, नेपाललाइभ जस्ता पत्रिकामा काम गरिसकेका अधिकारीका ’धम्बोजी, ’नोरा’, ’जासुसीको जालो’ र ’चक्रव्यूहमा चन्द्रसूर्य’ किताब पनि प्रकाशित छन् ।
