Wednesday, June 10News That Matters

पर्यटन प्रवद्र्धन गर्न अन्तर्राष्ट्रिय बजारमा नेपाल जाने

पूर्णपुष्टि, फागुन १५

नेपाल एक वर्षपछि पर्यटन प्रवद्र्धनका लागि भौतिक रुपमै अन्तर्राष्ट्रिय बजारमा जाने भएको छ ।

मार्च महिनामा भारतको दिल्ली र मुम्बईमा भौतिक रुपमै उपस्थित भई दक्षिण एसियालीस्तरको ट्राभल मार्टमा भाग लिने निश्चित भएको नेपाल पर्यटन बोर्डले जनाएको छ ।

कोरोना भाइरसको महामारीका बीच अघिल्लो वर्षको चैतबाट विदेशमा पर्यटन प्रवद्र्धनको कार्यक्रम रोकिएको थियो ।

जुन मुलुकले पर्यटन प्रवद्र्धनका अभियान शुरु गरेको त्यो मुलुकमा अब भौतिक रुपमै उपस्थित भएर प्रवद्र्धन अभियान प्रारम्भ गर्ने भएको जनाएको छ ।

नेपालले परम्परागत उत्पादनका साथै महामारीपछि पनि घुमफिरका लागि सुरक्षित रहेको सन्देश प्रवाह गरिने बोर्डले जनाएको छ ।

दिल्ली र मुम्बईपछि सिलिगुडीमा समेत नेपालले भौतिक उपस्थितिमै प्रवद्र्धन गर्नेछ । यसरी हुने प्रवद्र्धन बोर्ड र निजी क्षेत्रका व्यवसायीले आफ्नो स्टल राखेरै नेपाल भ्रमणमा पर्यटकलाई आहृवान गर्छन् । यसबाहेक व्यवसायीबीच विजनेश डिल समेत यस मौकामा हुने गर्छ । यो वर्ष भारतीय शहर –दिल्ली, बैंकलौर, कोलकत्ता, मुम्बई, चेन्नाई, हैदरावादलगायत शहरमा प्रवद्र्धन गर्न बोर्डले १ करोड रुपैयाँ बजेट विनियोजन गरेको थियो ।

अहिले नेपाल पर्यटन बोर्ड र पर्यटन व्यवसायी नेपालमा आउन चाहने पर्यटकलाई सरकारले लगाएको कडा प्रावधान खुकुलो बनाउनु पर्ने अभियानमा छन् ।

अहिले नेपालमा पर्यटकको अनअराइभल भिसा रोकिएको छ । नेपाल आउन चाहेमा पर्यटन मन्त्रालयको सिफारिस चाहिन्छ । ५ हजार डलर बराबरको कोरोना बीमा नभएसम्म नेपाल आउन पाइदैन । नेपाल आइसकेपछि ७ दिन अनिवार्य क्वारेन्टिनको प्रावधान राखिएको छ ।

भारतपछि बंगलादेश र चीनमा समेत प्रवद्र्धनको योजना रहेको बोर्डले जनाएको छ । यद्दपी चीनले भने आफ्ना नागरिकलाई घुमफिरमा सहज वातावरण बनाएको छैन ।

कोरोना भाइरसको दोस्रो प्रकृति देखा परेका मुलुकहरुमा भने तत्कालका लागि भौतिक रुपमै उपस्थितिको सम्भावना टरेको छ । जर्मनीमा आयोजनामा हुने संसारको सबैभन्दा ठूलो ट्राभल मार्ट आइटीबी बर्लिन अनलाइनमा सिमित हुने भएको छ । स्पेनको अर्को ठूलो मार्ट समेत हुने–नहुने निश्चित छैन । नेपाल पर्यटन बोर्डको अगुवाईमा हरेक वर्ष तीन दर्जन भन्दा बढी ट्राभल मार्टमा भौतिक रुपमै उपस्थित भई प्रवद्र्धन हुने गरेको थियो ।