
पूर्णपुष्टि,जेष्ठ १६
एकै परिवारका दुईजनाको पानी जमेको खाल्डोमा डुबेर मृत्यु भएको छ । महोत्तरी रामगोपालपुर नगरपालिका–९ गोठबनौली निवासी रामकरण मण्डलका १० वर्षीय छोरा आशिक कुमार र ९ वर्षीय प्रेम कुमारको पानीमा डुबेर मृत्यु भएको हो ।
घर नजिकै रहेको एमपीएस इँटा उद्योगले माटो झिक्न खनेको खाल्डोमा डुबेर दाजु–भाइको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय महोत्तरीले जनाएको छ ।
प्रहरीकाअनुसार शनिबार साँझ वर्षाको पानी जम्मा भएको खाल्डोमा डुबेका दाजु–भाइलाई देखेपछि स्थानीयले उद्धार गरेर उपचारका लागि प्राथमिक स्वास्थ्य केन्द्र लगेका थिए । त्यहाँँ प्राथमिक उपचारपश्चात थप उपचारका लागि जिल्ला अस्पताल जलेश्वर ल्याउनेबित्तिकै मृत्यु भएको थियो ।
दुबै दाजु–भाइ खेल्दाखेल्दै खाल्डोसम्म पुगेर डुबेको स्थानीयले बताएका छन् । उनीहरुको शव पोष्टमार्टमका लागि जलेश्वर अस्पतालमा राखिएको छ ।
घटना सम्बन्धमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।
