
पूर्णपुष्टि, पुष २७
घरमा आएको पाहुनाको हत्या गरेको अभियोगमा मोरङका एक ८१ वर्षीय वृद्ध पक्राउ परेको छ । जिल्लाको लेटाङमा ६० वर्षीय वृद्धको हत्या गरेको अभियोगमा डम्बरबहादुर भुजेललाई प्रहरीले पक्राउ गरेको हो ।
प्रहरीका अनुसार लेटाङ नगरपालिका–२ फडानीमा प्रेमबहादुर बुढाथोकीको हत्या भएको थियो ।प्रहरीका अनुसार बुढाथोकी पक्राउ परेका भुजेलको घरमा पाहुना आएका थिए । सोमबार बेलुका भुजेलको आगन अगाडि बुढाथोकीको शव भेटिएको सूचना पाएपछि प्रहरी पुगेको थियो । प्रहरीका अनुसार मृतकको टाउकोमा बन्चरोले प्रहार गरेजस्तो देखिन्छ ।

वृद्धले शव घिसारेर घर नजिकैको बाँसघारी तर्फ लैजाँदै गर्दा स्थानीयले देखेपछि प्रहरीलाई खबर गरेका थिए ।
सोमबार बेलुका मृतक र हत्या आरोपी बृद्धसँगै मदिरा सेवन गरेको स्थानीयले बताएका छन् । मदिरा सेवनपछिको विवादका कारण हत्या गरेको हुनसक्ने प्रहरीले बताएको छ ।
जिल्ला प्रहरी कार्यालय मोरङका प्रहरी नायव उपरीक्षक दीपक श्रेष्ठले हत्याको अनुसन्धान भइरहेको बताए । पक्राउ परेका भुजेललाई इलाका प्रहरी कार्यालय लेटाङमा राखिएको छ । शव पोष्टमार्टमका लागि विपि कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरान पठाएको प्रहरीले जनाएको छ ।

