
पूर्णपुष्टि,जेष्ठ १५ । कैलालीको टीकापुर हत्याको आरोपमा दोषी ठहर भएका नागरिक उन्मुक्ति पार्टीका संरक्ष तथा पूर्व सांसद रेशम चौधरी जेलबाट छुटेका छन् । सरकारको सिफारिसमा राष्ट्रपति रामचन्द्र पौडेलले चौधरीसहित ४८२ जना कैदीहरुको भुक्तान हुन बाँकी कैद सजाय माफी गरेका हुन् ।
मन्त्रिपरिषद्ले आइतबार बिहानै रेशमको करिब १५ वर्ष कैद सजाय माफी गर्न सिफारिस गरेको थियो । पाँच वर्ष ३ महिना जेल सजाय काटेका चौधरीको १४ वर्ष ९ महिना जेल सजाय माफी भएको हो । राष्ट्रपति रामचन्द्र पौडेलले चौधरीको बाँकी कैद मिनाहा गरेपछि उनि विहान डिल्लीबजार कारागारबाट छुटेका हुन् ।
रेशमलाई लिन उनका बुबा र आमा डिल्लीबजार कारागार पुगेका थिए । उनको स्वागतका लागि ना।उ।पाका नेता कार्यकर्ता शुभेच्छुक डिल्लीबजार कारागार पुगेका थिए । रेशमलाई फूलमालाले भव्य स्वागत गरिएको छ ।
कैलालीको टीकापुरमा २०७२ भदौ ६ मा टीकापुरमा भएको प्रदर्शन हिंसात्मक झडपमा परिणत हुँदा ८ प्रहरी र एक नाबालकको ज्यान गएको घटनामा तीनै तहका अदालतले चौधरीलाई जन्मकैदको सजाय सुनाएको थियो । चौधरी २०७४ फागुन १५ देखि थुनामा थिए । उनलाई अदालतले तोकेको जन्मकैदको सजायअनुसार २० वर्ष कैद भुक्तान गर्नुपर्ने थियो ।
