
पेरिस ओलम्पिक २०२४ को पुरुष फुटबल प्रतियोगितामा स्पेनले स्वर्ण पदक जितेको छ। शुक्रबार राति भएको फाइनलमा स्पेनले आयोजक फ्रान्सलाई अतिरिक्त समयमा ५-३ गोल अन्तरले पराजित गर्यो। यो स्पेनको सन् १९९२ पछिको पहिलो ओलम्पिक स्वर्ण हो।
अतिरिक्त समयमा स्पेनका सर्जियो कमेलोले गरेका दुई गोल निर्णायक सावित भए। यो जितसँगै स्पेनले आफ्नो अन्तर्राष्ट्रिय फुटबल वर्चस्व कायम राखेको छ। स्पेनले यसअघि युरो २०२४ को उपाधि जितेको थियो भने मेन्स यू-१९ र महिला विश्वकपमा पनि विजयी भएको थियो।
अन्य खेलहरूमा, महिला बक्सिङको वेल्टरवेट वर्गमा अल्जेरियाकी इमाने खलिफले स्वर्ण जितिन्। उनले चीनकी याङ लिउलाई पराजित गरिन्। खलिफ यसअघि लैंगिक योग्यताका कारण विवादमा तानिएकी थिइन्। प्रतियोगिताको १३ औं दिनको अन्त्यमा, अमेरिका र चीन दुवैले ३३-३३ स्वर्ण पदक जितेका छन्। अमेरिका ३९ रजत र ३९ कांस्य सहित कुल पदक तालिकामा शीर्ष स्थानमा छ। चीनले २७ रजत र २३ कांस्य जितेको छ।
