Friday, July 31News That Matters

प्याराडाइजमा कक्षा ११ का नवप्रवेशी विद्यार्थीलाई भव्य स्वागत, उत्कृष्ट विद्यार्थी र शिक्षक सम्मानित

पूर्णपुष्टि/गाईघाट, साउन १५ ।
उदयपुरको त्रियुगा नगरपालिका–११ स्थित प्याराडाइज सेकेन्डरी स्कुलले कक्षा १२ का विद्यार्थीहरूको आयोजनामा कक्षा ११ मा नवप्रवेश गरेका विद्यार्थीलाई शुक्रबार विशेष समारोहबीच स्वागत गरेको छ । विद्यालयको व्यवस्थापनमा गाईघाटस्थित हिमालयन रिसोर्टमा आयोजित कार्यक्रममा त्रियुगा नगरपालिकाकी उपमेयर महेश्वरी राई प्रमुख अतिथिका रूपमा सहभागी हुनुभएको थियो ।

सो अवसरमा विद्यालयका विभिन्न संकायका उत्कृष्ट विद्यार्थी, विभिन्न खेलकुद प्रतियोगिताका विजेता तथा अतिरिक्त क्रियाकलापमा उत्कृष्ट प्रदर्शन गर्ने छात्रछात्रालाई पुरस्कृत गरिएको थियो। प्रमुख अतिथि उपमेयर राई, विशेष अतिथि बरुवा क्याम्पसका प्रमुख भीमबहादुर खड्का लगायतका अतिथिहरूले पुरस्कार तथा सम्मान प्रदान गर्नुभएको थियो ।

कार्यक्रमलाई सम्बोधन गर्दै प्रमुख अतिथि उपमेयर राईले प्याराडाइज सेकेन्डरी स्कुलले उदयपुरको शैक्षिक क्षेत्रमा महत्वपूर्ण योगदान पुर्‍याउँदै आएको बताउनुभयो। गुणस्तरीय उच्च शिक्षा प्रदान गर्ने सक्षम शैक्षिक संस्था नगरपालिकाकै सम्पत्ति भएको उल्लेख गर्दै उहाँले विद्यालयको थप प्रगतिको शुभकामना व्यक्त गर्नुभयो ।

विशेष अतिथि बरुवा क्याम्पसका प्रमुख भीमबहादुर खड्काले निजी क्षेत्रबाट सञ्चालित यस विद्यालयले उदयपुरको उच्च शिक्षामा उल्लेखनीय भूमिका खेलेको बताउँदै विद्यार्थीहरूको पहिलो रोजाइ बन्न सफल भएको धारणा राख्नुभयो ।

यसैबीच, यस वर्षको एसईई परीक्षामा सरकारी विद्यालयतर्फ उदयपुरकै उत्कृष्ट छात्र बन्न सफल अमित राई र उत्कृष्ट छात्रा विविसा श्रेष्ठ प्याराडाइजमा भर्ना भएका छन्। उनीहरू अम्बेबर माध्यमिक विद्यालय, राजाबासका विद्यार्थी हुन् । त्यसैगरी संस्थागत विद्यालयतर्फ उत्कृष्ट नतिजा हासिल गरेका आयुषा कटुवाल, अनमोल कटुवाल र विक्रम राउत पनि प्याराडाइजमै अध्ययनका लागि भर्ना भएका छन्। विद्यालयले उनीहरूलाई विशेष सम्मानसहित पुरस्कृत गरेको छ ।

कार्यक्रममा उत्कृष्ट शिक्षण कार्य गर्ने शिक्षक–शिक्षिकालाई पनि सम्मान गरिएको थियो । विद्यालयका प्रिन्सिपल बाबुराम आचार्यको अध्यक्षतामा सम्पन्न कार्यक्रममा पत्रकार भोटराज राई, पूर्वविद्यार्थी तथा नेपाल सरकारका कर्मचारी सुनिल घिमिरेले शुभकामना मन्तव्य राख्नुभएको थियो। विद्यार्थी नायिसा चौहानले स्वागत मन्तव्य व्यक्त गर्नुभएको कार्यक्रमको सञ्चालन शिक्षक फागुलाल शर्माले गर्नुभएको थियो । कार्यक्रममा पत्रकार बुद्धि चाम्लिङ, सौरभ मगर लगायत अभिभावक, शिक्षक, विद्यार्थी तथा अन्य अतिथिहरूको उल्लेखनीय सहभागिता रहेको थियो।

फाेटाे फिचर :