Tuesday, April 21News That Matters

प्रतिनिधि सभामा संविधान संशोधन विधेयकमाथि छलफल हुँदै

पूर्णपुष्टि, जेठ २७ गते । 

आज प्रतिनिधि सभामा नेपालको अध्यावधिक नक्सासम्बन्धी संविधान संशोधन विधेयकमाथि सैद्धान्तिक छलफल हुँदैछ ।

संसद सचिवालयले सार्वजनिक गरेको मंगलबारको संभावित कार्यसूचीमा कानुन, न्याय तथा संसदीय मामिला मन्त्री डा. शिवमाया तुम्बाहाङफेले नेपालको संविधान दोस्रो संशोधन विधेयक २०७७ लाई सैद्धान्तिक छलफलका लागि पेश गर्नु हुने उल्लेख छ ।

कानुनमन्त्री तुम्बाहाङफेले लिम्पियाधुरा, कुटी, गुञ्जी, नावीसहितको भूभाग समेटेर सरकारले सार्वजनिक गरेको नेपालको नयाँ राजनीतिक तथा प्रशासनिक नक्सालाई संवैधानिक मान्यता दिने गरी ल्याएको संविधान संशोधन विधेयकमाथि विचार गरियोस् भन्ने प्रस्ताव पेश गर्नुहुने छ ।

यहि जेठ १९ गते संघीय संसद सचिवालयले सर्वसाधारणको जानकारीका लागि नेपाल राजपत्रमा विधेयक प्रकाशित गरेको थियो । त्यसको सात दिन पुरा भएपछि प्रतिनिधि सभामा सैद्धान्तिक छलफल हुन लागेको हो ।

संविधान संशोधनसँग सम्बन्धित विधेयक सर्वसाधरणको जानकारीका लागि सार्वजनिक भएको सात दिनपछि छलफलका लागि संसदमा प्रस्तुत गर्न योग्य हुने प्रावधान नियमावलीमा छ ।