
पूर्णपुष्टि,भद्र ३० । प्रथम दिप्शन मगर स्मृति फुटबल प्रतियोगिताको उपाधी गाईघाट फुटबल क्लबले हात पारेको छ । उदयपुको चौदण्डीगढी नगरपालिका–७, स्थित रामप्रसाद राई रंगशालामा भएको अन्तिम फाईनल खेलमा तालतलैया फुटबल क्लव सुनसरीलाई पेनाल्टी सुटआउटमा ३ को विरुद्ध ४ गोलले पराजित गर्दै गाईघाटले उपाधी चुमेको हो ।
प्रतियोगिताको फाइनल खेलको ४५औं मिनेटमा गाईघाट फुटबल क्लबका जर्सी नम्बर २३ का खेलाडी योन्जन हमालले गोल गर्दै टिमलाई अग्रता दिलाएका थिए । एक गोलले पछि परेका तालतलैयाले सुधारिएको खेल प्रदर्शन गर्दै खेलको ५९औं मिनेटमा जर्सी नम्बर ८ का खेलाडी उमेश कार्कीले जवाफी गोल गर्दै खेल बराबरीमा ल्याएका थिए । निर्धारित समयमा दुवै टिमका तर्फबाट थप गोल हुन नसकेपछि बिजेताको छिनोफानो पेनाल्टी मार्फत गरिएको थियो ।
ट्राईबेकरमा ४-३ ले जित निकाल्दै गाईघाट फुटवल क्लबले उपाधी जितेको छ भने सुनसरीको तालतलैया फुटवल क्लब उपविजेतामा चित्त बुझाउन बाध्य भएको छ । विजेता टिम गाईघाटले नगद ५० हजार रुपैयाँ, ट्रफी, मेडल र प्रमाण पत्र पाएको छ भने प्रतियोगिताको उपविजेता तालतलैयाले नगद ३० हजार, ट्रफी, मेडल र प्रमाण पत्र प्राप्त गरेको छ । बिजेता सबैलाई चौदण्डीगढी नगरपालिकाका नगर प्रमुख कालुमान लामा , पुर्व मेयर खगेन्द्र राई लगायतले पुरुस्कार प्रदान गरेका थिए ।
