
पूर्णपुष्टि, भदौ २८
१ नं प्रदेशमा परिवारको सदस्य र आफन्त बाट १ बर्षको अबधिमा ५६ जनाको हत्या भएको छ । सबै भन्दा सुरक्षित ठानिने परिवार र आफन्तबाटै ५६ जनाको हत्या भएको प्रदेश प्रहरीको तथ्याङकमा उल्लेख छ ।
प्रदेश प्रहरी कार्यालयको तथ्याङ्क अनुसार आर्थिक वर्ष २०७७/०७८ मा प्रदेशभरि आफन्त र परिवारका सदस्यबाट ५६ जनाको हत्या भएको पाइएको हो ।
प्रहरीका अनुसार उक्त वर्ष आफन्त र परिवारका सदस्यको संलग्नतामा भएका कर्तव्य ज्यानका ५५ घटनामा ५६ जनाको मृत्यु भएको हो ।
१४ जिल्ला रहेको प्रदेश १ आर्थिक वर्ष २०७७÷०७८ मा ७ हजार ३८४ वटा आपराधिक मुद्दा दर्ता भएकोमा १४३ वटा कर्तव्य ज्यान मुद्दा छन् । तीमध्ये ५५ वटा घटना आफन्त र परिवारका सदस्यको संलग्नतामा भएको तथ्याङ्क छ ।
सोलुखुम्बुबाहेक प्रदेश १ का १३ जिल्लामा पारिवारिक विवादमा हत्याका घटना भएका छन् । झापामा १२, सुनसरीमा ११, मोरङ र ताप्लेजुङमा पाँच÷पाँच, इलाम र उदयपुरमा चार÷चार, खोटाङमा तीन, ओखलढुङ्गा, तेह्रथुममा, धनकुटा, पाँचथर र सङ्खुवासभामा दुई÷दुई तथा भोजपुरमा एउटा हत्याका घटना भएको प्रदेश प्रहरीले जनाएको छ ।
आफन्त वा परिवारकै सदस्य संलग्न कर्तव्य ज्यानका ५५ घटनामा अधिकांश आरोपित र पीडित पति वा पत्नी नै छन् । पतिले पत्नी वा पत्नीले पतिको हत्या गरेको घटना ३१ वटा रहेको प्रहरीको तथ्याङ्कमा उल्लेख छ ।
नाताभित्र कर्तव्य ज्यानका घटनामा पति–पत्नीपछि बाबु–छोरा आरोपित र पीडितका रूपमा बढी छन् । बाबुले छोरा वा छोराले बाबुको हत्या गरेका घटना ८ वटा रहेको प्रहरीको तथ्याङ्कमा उल्लेख छ । प्रदेशमा वर्षभरि पाँच महिलाले आफ्नै शिशुको हत्या गरेका छन् ।
यसैगरी ठुलोबुबा–भतिज, माइजू–भान्जा, दाजु–बहिनी र आमाछोराबीच पनि हत्याका घटना भएको पाइएको छ ।
लैङ्गिक हिसाबका आधारमा यसरी परिवारभित्रकै सदस्यबाट वर्षभरि ४६ महिलाको हत्या भएको १ नम्बर प्रदेश प्रहरी कार्यालय विराटनगरका प्रहरी उपरीक्षक नवीनराज राईले जानकारी दिए । ‘सामान्य पारिवारिक विवादले हत्याको रूप लिँदा परिवारका सदस्यबाटै मारिनेमा अधिकांश गृहिणी महिला रहेको राईले बताए ।
