Thursday, June 18News That Matters

प्रदेश सरकारद्धारा किसानलाई प्रतिलिटर दुई रुपैयाँको दरले अनुदान

पूर्णपुष्टि,चैत्र २५ । स्थानीय तथा ग्रामीण क्षेत्रमा दूध उत्पान दर्ने ६ जिल्लाका किसानहरुलाई कोशी प्रदेश सरकारले प्रतिलिटरमा दुई रुपैयाँको दरले अनुदान प्रदान गर्ने भएको छ । शुक्रबार नवयुग दुग्ध सङ्कलन तथा वितरण केन्द्र इनरुवा–५ बलाहामा कोशी प्रदेश सरकारका उद्योग, कृषि तथा सहकारीमन्त्री भक्तिप्रसाद सिटौलाले किसानलाई अनुदान रकम प्रदान गर्नुभएको हो ।

बर्षै देखि कृषि पेशामा आवद्ध भई भैँसी तथा गाईपालन गरेर दूध उत्पादन गर्ने किसानलाई प्रोत्साहन र उत्पादन वृद्धिका लागि दूधमा प्रतिलिटर दुई रुपैयाँका दरले अनुदान रकम प्रदान गरिएको छ । डेरीमा प्राप्त दूधको विवरण अनुसार अनुदान रकम प्रदान गरिएको नवयुग दुग्ध सङ्कलन तथा वितरण केन्द्रका सञ्चालक गोविन्द पोखरेलले बताउनु भयो । केन्द्रमा दूध दिने दुई सय किसानलाई अनुदान रकम हस्तान्तरण गरिएको उहाँले बताउनुभयो ।

ग्रामीण क्षेत्रमा भैँसी तथा गाईपालन गरेर दूध उत्पादन गर्दै आएका किसानलाई प्रोत्साहन र उत्पादन वृद्धिका लागि प्रदेश सरकारले चालु आवमा १२ करोड ५० लाख रुपैयाँ रकम अनुदानका लागि विनियोजन गरेको छ । कोशी प्रदेशका झापा, मोरङ, सुनसरी, तेह्रथुम, धनकुटा र इलामका चिस्यान केन्द्र, डेरी तथा सहकारीका माध्यमबाट किसानलाई अनुदान दिइने कार्यक्रम रहेको पशुपक्षी तथा मत्स्य विकास निर्देशनालयका प्रमुख सचिव मेघनाथ तिमिल्सिनाले बताउनुभयो ।

जिल्लाका भेटेरिनरी अस्पतालबाट सूचना नै जारी गरेर दूध सङ्कलन गर्ने संस्थासँग आवेदन माग गरेको र आवेदनबाट सुनसरीको हकमा १८ संस्था छनोटमा परेकाले त्यही संस्थामार्फत् किसानको तथ्याङ्क सङ्कलन गरेर उनीहरुलाई अनुदान रकम वितरण गरिएको हो ।