
पूर्णपुष्टि,चैत्र २५ । राष्ट्रिय एकता अभियानले अश्लील भिडियो सार्वजनिक भएपछि डा.सीके राउत नेतृत्वको जनमत पार्टीका सांसद अब्दुल खानलाई निलम्बन गर्न माग गरेको छ । शुक्रबार प्रतिनिधि सभाका सभामुख देवराज घिमिरेलाई ज्ञापनपत्र बुझाउँदै अभियानले उनलाई तत्काल निलम्बन गरेर अनुसन्धान अगाडि बढाउन माग गरेको हो।
मानुपातिक सांसद तथा निवर्तमान खानेपानी तथा सरसफाइ मन्त्री खानको यस हर्कतले नेपालको संसदीय व्यवस्था, सङ्घीय लोकतान्त्रिक गणतन्त्र एवम् समग्र राजनीतिक प्रणालीको शिर निहुरिएको उल्लेख गर्दै अभियानले कारबाहीको माग गरेको छ ।
सार्वजनिक जीवन धारण गरेका व्यक्तिहरूका यस्ता अनैतिक हर्कतले समाजलाई विकृत र विसंगत बनाउन अझ बढी मलजल गर्छ भन्दै अभियानले नेता खानलाई तत्काल सांसद पदबाट निलम्बन गरी कानुनी दायरामा ल्याउन माग गरेको छ ।
