Thursday, May 28News That Matters

प्रदेशमा ९३ जनाकाे रयापीड टेस्ट, सबैकाे रिपाेर्ट नेगेटिभ

पूर्णपुष्टि, चैत २९

कोरोना भए/नभएको पत्ता लगाउन गरिने र्यापिड डाइग्नोष्टिक टेस्ट प्रदेश १ मा शुरु भएको छ । यो परिक्षणबाट प्रदेशमा गरिएको कुल ९३ जनाको नमूनाको परीक्षण गर्दा कसैमा पनि कोरोना नदेखिएको मुख्यमन्त्री तथा मन्त्रिपरिषद् कार्यालय, कोरोना सूचना डेस्कले जानकारी दिएको छ । जम्मा ७ महिला र ८६ पुरुषको नमूना संकलन गरी परीक्षण गर्दा सबैको रिर्पोट नेगेटिभ आएको हो ।

छरितो तरिकाबाट कोरोना भए/नभएको परीक्षण गर्ने विधि भएकाले अव धेरै संकास्पद मानिसको परिक्षण गर्न सकिने प्रदेश सरकारले जनाएको छ ।

प्रदेश १ का मुख्यमन्त्री शेधरन राईले शुक्रबार अब सरकारको ध्यान ठूलो संख्यामा परीक्षण गर्नेतर्फ केन्द्रीत हुने बताउनु भएको थियो । परीक्षणका लागि विराटगरको कोशी अस्पतालमा काठमाडौपछि अधिक परीक्षण गर्न सक्ने ल्याब समेत संचालनमा आईसकेको छ ।

उता संभावित कोरोना परीक्षणको लागि नमूना संकलन तथा परीक्षण (पीसीआर) अन्तर्गत गरिएको अहिलेसम्मको परीक्षणमा समेत प्रदेश १ मा कोरोना नभएको देखिएको छ । यसतर्फ कुल २ सय ११ नमूना संकलन भई परीक्षण गरिएकोमा ३६ महिलासहित १ सय ५३ पुरुषको रिर्पोट नेगेटिभ देखिएको छ । शनिबार जम्मा ४ महिला र २७ पुरुष गरी जम्मा ३१ जनाको नमूना पठाइएको छ । प्रदेश सरकारद्वारा धरानको वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा नमुना परीक्षणको प्रबन्ध गरिएको छ ।

सरकारले विभिन्न स्थानमा संचालन गरेका क्वारेन्टाइन राखिएका सर्वसाधारणको नमूना संकलन गर्न शुक्रबारबाट पाँच स्थानमा स्वास्थ्यकर्मी परिचालन गरिएको छ । झापा, मोरङ र उदयपुरमा निर्मित क्वारेन्टाइन स्थलमा पुगेर स्वास्थ्यकर्मीले नमूना संकलन गरिरहेका छन् । प्रतिष्ठानबाट दिनमा १२ जनाको दरले स्वाब टेस्ट भइरहेको छ ।