Wednesday, April 22News That Matters

प्रधानमन्त्री सहित नेताहरूको यमपूजा गरेका खतिवडाको रिहाइको माग गर्दै सर्वोच्चमा रिट

पूर्णपुष्टि, साउन १६ । प्रधानमन्त्री केपी शर्मा ओलीसहित नेताहरूको फोटो राखेर अनुष्ठान गरेको आरोपमा पक्राउ परेका धर्मगुरु पुष्कर खतिवडालाई गैरकानुनी थुनामा राखेको भन्दै सर्वोच्च अदालतमा बन्दी प्रत्यक्षीकरणको निवेदन दर्ता भएको छ। खतिवडाको तर्फबाट अधिवक्ता आवास अधिकारीले मंगलबार सर्वोच्चमा निवेदन दर्ता गराएका हुन्।

जिल्ला प्रहरी परिसर काठमाडौँले साउन १४ गते खतिवडालाई नियन्त्रणमा लिएको थियो। प्रहरी वृत्त महाराजगन्जको टोलीले उनलाई सोमबार पक्राउ गरेको हो। उनलाई विद्युतीय अपराध अन्तर्गतको कसुरमा पक्राउ गरिएको बताइएको छ।

खतिवडाले आफ्नो घरमा यज्ञ गर्दै गरेको भिडिओ सामाजिक सञ्जालमा राखेका थिए। उनले प्रधानमन्त्री ओली लगायत नेताहरूको नाममा यमपूजा गर्दै होम हाल्ने तयारीसमेत गरेको आरोप छ। केही दिनअघि खतिवडाले फेसबुकमा भिडिओ राख्दै ‘देश खाल्डोमा हाल्ने नेताहरू छन्, उनीहरूको फोटोसहित राखेर यमराजको पूजा गर्ने निर्णय गरेको छुू भनेका थिए।’ जिल्ला अदालतबाट म्याद समेत थप भएपछि रिहाइको माग गर्दै सर्वोच्चमा निवेदन दायर गरिएको हो। निवेदनमा उनलाई राज्यले नियतवश नियन्त्रणमा लिएर गैरकानुनी थुनामा राखेको जिकिर गरिएको छ।