
पूर्णपुष्टि,असार १ । दक्षिणपूर्वी यूरोपेली मुलुक ग्रिसको दक्षिणी समुद्री तट नजिकै अवैध आप्रवासी बोकेको डुंगा दुर्घटना हुँदा ७९ जनाको मृत्यु भएको छ । डुंगामा सवार ७५० जनाहरुमध्ये ७९जनाको शव फेला परेको हो । अन्य व्यक्तिहरु वेपत्ता छन् । उनीहरुको खोजी जारी छ ।
ग्रिस सरकारले यसलाई एउटा ठूलो दुखद् घटना भन्दै तीन दिन राष्ट्रिय शोकको घोषणा गरेको छ । पाइलोस नगरबाटको तटबाट करिब ८० किलोमिटरको दूरीमा पर्ने भूमध्य सागरमा उक्त डुंगा डुबेको ग्रिसको सीमारक्षक बलले जनाएको छ । माछा मार्न प्रयोग गरिने उक्त डुंगामा सवार कसैले पनि लाइफ ज्याकेट नलगाएको जनाइएको छ ।
उक्त डुंगाको तल्लो तलामा करिब एक सय जना बालबालिका र महिलाहरु पनि थिए । दुर्घटनाबाट बाँचेकाहरुले बालबालिकाको संख्याबारे जानकारी दिएको बीबीसीले जनाएको छ । ती महिला र बालबालिकाहरुको अवस्था अज्ञात छ । दुर्घटना बाँचेकाहरुमा धेरैजसो पुरुषहरु छन् । त्यसैले महिला र बालबालिकाहरुको हताहती भएको हुनसक्ने आशंका अधिकारीहरुले गरेका छन् ।
क्षमताभन्दा धेरै मानिस भएकाले डुंगा दुर्घटना भएको अनुमान छ । ग्रिसको सरकारी टेलिभिजन ईआरटीका अनुसार डुंगा दुर्घटनापछि कोस्टगार्डका १२ जनालाई हिरासतमा लिइएको छ । ग्रिस कोस्टगार्डले प्रवासीहरुले खचाखच भरिएको डुंगा देखेको तर रोक्ने कोसिस नगरेको आरोप छ ।
