
पूर्णपुष्टि, साउन २
प्रहरीमाथी गोली प्रहार गर्ने दुई जना सुनसरीको देवानञ्जबाट पक्राउ परेका छन् । देवानञ्ज गाउँपालिका–३ पानीट्याङकीमा प्रहरीमाथि गोली प्रहार गर्ने दुई जनालाई स्वालित पेस्तोलसहित पक्राउ गरेका हुन् ।
स्वचालित पेस्तोल सहित देवानगञ्ज गाउँपालिका–२ का २३ वर्षीय पिन्टु यादव र ३२ वर्षीय राजेश यादव पक्राउ गरिएको प्रहरीले जनाएको छ ।
गस्तीमा रहेको प्रहरी टोलीले ३ जना भारतीय नागरिकसहित २ वटा मोटरसाइकलमा आएका ५ जनाको समूहलाई रोकेर जाँच गर्ने क्रममा प्रहरी टोलीलाई लक्षित गरी फायर गरेपछि प्रहरीले गोली चलाएको थियो । प्रहरीले जवाफी फायर गर्दा २ जना घाईते भएका छन् भने ३ जना भारततर्फ नै भागेर फरार भएको जिल्ला प्रहरी कार्यालय सुनसरीले जनाएको छ ।
घटनास्थलबाट प्रहरीले अमेरिकन स्वचालित पेस्तोल १ थान, सोही पेस्तोलमा लाग्ने गोली ६ राउण्ड गोली र म्यागजिन २ थान, भारतीय नम्बर प्लेटको मोटरसाइकल १ थान र अनटेष्ट लेखिएको मोटरसाईकल बरामद गरेको प्रहरीले जनाएको छ ।
घाईते भएका दुवैजनाको वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा उपचार भइरहेको छ । घटना सम्बन्धमा थप अनुसन्धान भइरहेको जिप्रका सुनसरीले जनाएको छ ।
