
पूर्णपुष्टि, बैशाख २३
प्रधानमन्त्री केपिशर्मा ओलीले आफुले विश्वासको मत नपाए फेरी संसद विगटन गरी चुनावमा उत्रिने संकेत गरेको छ । आफुले संसद्बाट विश्वासको मत नपाए निर्वाचनका प्रक्रियाको लागि प्रतिनिधिसभा विगटन गर्ने दाउमा ओली रहेको छ ।
ओलीले विश्वासको मत पाउन्न सकिन्न भने निर्वाचनका लागि मिलेर जान काँग्रेसलाई आग्रह समेत गरेको छ । आफ्नो विकल्पमा बहुमतको सरकार बन्ने अवस्था नभएको दाबी गर्दै ओलीले कांग्रेस सँग यस्तो आग्रह गरेका हुन् ।
कांग्रेसले विश्वासको प्रस्ताव असफल बनाउने निर्णय गरेकै भोलिपल्ट बुधबार ओली सहयोगीहरूका साथ देउवा निवास बूढानीलकण्ठ पुगेका थिए । उनले लामो पृष्ठभूमिका साथ आफूले संसद्बाट विश्वासको मत नपाए निर्वाचनमा जाने परिस्थिति बन्ने उल्लेख गरेको कांग्रेसका एक नेताले बताए । प्रधानमन्त्री ओलीले केही समयअघि देउवासँग आगामी असोज वा मंसिरभित्र निर्वाचन हुने गरी अघि बढ्ने बताउँदै त्यसका लागि सहयोगको आग्रह गरेका थिए ।
बूढानीलकण्ठ जानुअघि ओलीले बालुवाटारमा आफूनिकटका नेतासँग परामर्श गरेका थिए । छलफलपछि उनी उपप्रधानमन्त्री ईश्वर पोखरेल, गृहमन्त्री रामबहादुर थापा, अर्थमन्त्री विष्णु पौडेल र संसदीय दलका उपनेता सुवास नेम्वाङलाई लिएर देउवा निवास पुगेका थिए ।
प्रधानमन्त्री ओलीले कांग्रेसले सहयोग गर्ने अपेक्षा नराखे पनि औपचारिकताकै लागि सत्ता साझेदारी र विश्वासको मतका लागि प्रस्ताव भने गरेका थिए । ओलीले छलफलमा आफु पनि लोकतन्त्रका लागि लडेको र संघर्ष गरेको ब्यक्ति रहेको जनाउँदै संविधान जारी गर्दाका दलहरूबीच एकता र सहकार्य गरेर जान कांग्रेस सँग प्रस्ताव राखेका छन् ।
यता कांग्रेसका नेताहरुले व्यवहारमा प्रधानमन्त्री ओली लोकतन्त्रवादी नदेखिएको बताएको छ । उनीहरूले लोकतान्त्रिक विधि, प्रक्रिया, संस्था र मर्यादालाई अनादार गर्दै संविधानविपरीतको बाटोमा एक्लै अघि बढ्न खोजेको भन्दै सत्ता साझेदार र विश्वासको प्रस्तावमा सहयोग गर्ने प्रस्ताव अस्वीकार गरेका थिए ।
प्रतिनिधिसभा विघटन, संसद्लाई प्रभावहीन बनाइएको, अदालत, अख्तियारलगायत संवैधानिक आयोगहरूलाई अनादार गरिएको, लुम्बिनी र गण्डकी प्रदेशमा सत्ताका लागि असंवैधानिक, अराजनीतिक र अनैतिक गतिविधिमा संलग्न भएको जस्ता विषय कांग्रेस नेताहरूले उठाएका थिए । मंगलबार मात्रै सात अध्यादेश जारी गरिएको विषयमा समेत उनीहरूको आपत्ति थियो । कांग्रेस सभापति देउवाले सरकारको काम र विपक्षी दलका रूपमा आफूहरूले विश्वासको प्रस्तावलाई सहयोग गर्न नसक्ने बताएका थिए ।
छलफलमा कांग्रेसका तर्फबाट सभापति देउवा, वरिष्ठ नेता रामचन्द्र पौडेल, उपसभापति विमलेन्द्र निधि, महामन्त्री शशांक कोइरालासहित आधा दर्जन नेता सहभागी थिए । दुवै पक्षबीच केहीछिन गर्मागर्मी बहस भएको थियो ।
