
पूर्णपुष्टि, माघ २४
गत बिहिबार फेसवुकको माउ कम्पनी मेटाको सियरमा उच्च गिरावट आए सँगै कम्पन्नीका मालिक मार्क जुकरबर्गलाई करिब ३० अर्ब अमेरीकी डलर घाटा हुन पुगेको छ । फेसवुकको नयाँ नाम मेटा राखे सँगै प्रयोकर्ताहरु ह्वात्तै घटेको जनाईए सँगै उक्त कम्पनीको सियरमा गिरावट हो ।
गत हप्ता फेसबुकको माऊ कम्पनी मेटाको शेयरमा हालसम्मकै उच्च गिरावट आएको थियो । उक्त दिन मेटाको शेयरमा २६ प्रतिशत गिरावट आएको थियो । कम्पनीको आम्दानी घटेको र प्रयोगकर्ताको संख्या बढ्न नसकेको सार्वजनिक भएलगत्तै मेटाको शेयरमा भारी गिरावट आएको थियो । त्यस्तै, मेटाभर्स नामक परियोजनामा निकै लगानी बढाएका कारण र विद्यमान सेवामा विज्ञापनसम्बन्धी चुनौतीले गर्दा लगानीकर्ताहरूले फेसबुकको शेयर बेच्न थालेका हुन् ।

मेटाले गत वर्षको त्रैमासिकमा १०.३ बिलियन डलर आम्दानी गरेको थियो । जुन अघिल्लो वर्षको सोही अवधिमा भएको आम्दानीभन्दा आठ प्रतिशतले कम हो । मेटाले भीआर र एआर प्रविधिमा ठूलो लगानी गर्न थालेपछि आम्दानी घटेको हो । आम्दानी घटेको सार्वजनिक भएसँगै बुधबार मेटाको शेयरमा झण्डै २३ प्रतिशतले गिरावट आएको सीएनएनले जनाएको छ ।
फेसबुकले आफ्नो आम्दानीका लागि साना तथा मझौला व्यवसायमाथि निर्भर हुँदै आएको छ । तर, त्यस्ता व्यवसायको आपूर्ति चक्र अवरुद्ध हुँदा यसको असर विज्ञापनमा देखिन थालेको छ । यही कारण फेसबुकले विज्ञापनको चुनौतीसमेत सामना गरिरहेको छ ।
मेटाका अधिकारीले एप्पललाई आईओएसमा परिवर्तन गरेपछि विज्ञापनमा चुनौती थपिएको बताइरहेका छन् । त्यस्तै, व्यापारिक गतिविधि अवरुद्ध हुँदा विज्ञापनदाताको बजेटमाथि नकारात्मक असर परेको मेटाका सीएफओ डेभ वेहनरको भनाइ छ ।

फेसबुकले सामना गरेको अर्को समस्या भनेको प्रयोगकर्ता नबढ्नु हो । मेटाका अनुसार गत वर्षको अन्तिम त्रैमासिकमा फेसबुकका प्रयोगकर्ता केही घट्न पुगेका थिए । प्रयोगकर्ता नबढ्दा विज्ञापन पनि कम मानिसले हेर्ने भएका कारण यसको असर शेयरमा परेको हो । साथै, टिकटकजस्ता प्रतिस्पर्धीले समेत फेसबुकसमक्ष चुनौती थपिदिएका छन् ।
समग्रमा गत हप्ता शेयर बजारमा मेटाले कूल २३७ अर्ब गुमाएको थियो । हाल ३७ वर्षीय जुकरबर्गको नाममा मेटाको १४।२ प्रतिशत शेयर छ । यसरी हेर्दा उनले झण्डै ३० अर्ब डलर गुमाएका छन् । हाल जुकरबर्गसँग मुकेश अम्बानीको भन्दा ४० करोड डलर बढी सम्पत्ति छ । २३ वर्षको उमेरमै अर्बपति बनेका जुकरबर्गको सम्पत्ति २००८ यता ह्वात्तै बढ्न पुगेको थियो । बुधबारसम्म उनी सर्वाधिक १० धनी व्यक्तिको सूचीमा सातौं स्थानमा थिए । तर, रातारात झरेर १० औं स्थानमा पुगेका छन् ।

बिहीबार शेयर बजार बन्द हुने बेलासम्म उनी विश्वकै धनी व्यक्तिको सूचीमा १२ स्थानमा झरेका थिए । कम्पनीको शेयर मूल्य ह्वात्तै घटेपछि उनले आफ्ना कर्मचारीलाई चिनियाँ कम्पनी बाइट डान्स अर्थात् टिकटकको माउ कम्पनी अभूतपूर्व प्रतिस्पर्धा सामना गरेको बताएका थिए । यो सातासमेत फेसबुकको शेयरमा गत हप्ताकै जस्तै अवस्था देखियो भने जुकरबर्ग संसारका सर्वाधिक १० धनी व्यक्तिको सूचीमा नअटाउने निश्चित छ ।

