
पूर्णपुष्टि, फागुन २१ । फ्रेन्च लिग वानमा नान्ट्समाथि पेरिस सेन्ट जर्मेन (पिएसजी) ले शानदार जित निकालेको छ । शनिबार राति पिएसजीको घरेलु मैदान पार्क डे प्रिन्समा भएको खेलमा पिएसजीले नान्ट्समाथि ४–२ गोल अन्तरमा जित निकालेको हो ।
खेलको १२ औं मिनेटमा मेस्सीको गोलमा पिएसजीले आग्रता लिएको थियो भने १७ औं मिनेटमा जाओविन हड्जामले आत्मघाती गोल गरेपछि पिएसजीको आग्रता दोब्बर भएको थियो । ३१औं मिनेटमा लुडोभिक ब्लास्टले गोल गर्दै खेललाई २–१ को स्थितिमा ल्याए । ३८औं मिनेटमा गनागोले गोल गर्दै खेललाई पहिलो हाफमा २–२ गोलको बराबरीमा ल्याए।
६०औं मिनेटमा डानिलोले गोल गर्दै पिएसजीलाई पुनः अग्रता दिलाए । त्यसपछि इन्ज्युरी समयमा एम्बाप्पेले गोल गर्दै पिएसजीलाई ४–२ को रोमाञ्चक जित दिलाए । नान्ट्स विरुद्ध गोल गरेका एम्बाप्पेले पिएसजीका एडिन्सन काभानीको रेकर्ड तोडेका छन् । एम्बाप्पेले पिएसजीका लागी २४७ खेलमा २०१ गोल गर्दै सार्वाधिक गोलकर्ता समेत बनेका छन् । यस जितपछि पीएसजीले शीर्ष स्थानमा ११ अंकको अग्रता लिएको छ । पराजित नान्टेस २८ अंक जोडेर १३ औं स्थानमा झरेको छ।
