Wednesday, June 3News That Matters

इटहरीमा भएको बम विष्फोटमा संलग्न मुख्य योजनाकासहित ४ जना पक्राउ

पूर्णपुष्टि, चैत २० गते ।
इटहरीमा गत चैत १४ गते भएको बम विष्फोटमा संलग्न मुख्य योजनाकारसहित चार पक्राउ परेका छन् । सुनसरीको इटहरी उपमहानगरपालिका–२ का अमिर श्रेष्ठको घरमा डेरा गरी बस्ने लक्ष्मी देवी थापाको कोठामा भएको बिष्फोटमा संलग्न चार जनालाई जिल्ला प्रहरी कार्यालय सनसरीले सार्वजनिक गरिएको छ । इटहरी उप महानगरपालिका–२ का श्रेष्ठको घरमा डेरा गरी बस्ने ३२ वर्षीया लक्ष्मी देवी थापा, निजको छोरा १८ वर्षीय रबिन थापा, ढोडेनी गाउँपालिका–७ लम्जुङका २३ बर्षीय शेरजंग गुरुङ र कन्काई नगरपालिका–८ झापाका ४३ वर्षीय संजय भन्ने खगेन्द्र खरेल पक्राउ परेका हुन् ।
चैत्र १४ गते राती १० बजे लक्ष्मी देवी थापाको कोठामा बम विष्फोटको घटना भएकोमा तत्काल इलाका प्रहरी कार्यालय इटहरीबाट खटिएको प्रहरी नायव उपरीक्षक खगेन्द्र बहादुर खडका सहितको प्रहरी टोलीले घाईते अवस्थामा फेला परेका रविन थापा र शेरजंग गुरुङलाई उपचारको लागि अस्पताल पठाई अनुसन्धान सुरु गरेको थियो ।
घटनाको अनुसन्धान तथा खोज तलासको क्रममा १ नम्बर प्रदेश प्रहरी कार्यालय बिराटनगर ‘आरईटी’ संघीय प्रहरी इकाई कार्यालय धरान, जिल्ला प्रहरी कार्यालय सुनसरीको संयुक्त प्रहरी टोलीले बिष्फोट पश्चात फरार रहेका आशा ठकुरी भन्ने लक्ष्मी देवी थापा (ठकुरी)लाई इटहरी–२ स्थितमा लुकुछिपि बसेको अवस्थामा पक्राउ गरेको हो ।
त्यस्तै घटनाका मुख्य योजनाकार संजय भन्ने खगेन्द्र खरेललाई झापाको काँकरभिट्टाबाट १७ गते, उपचार पश्चात रविन थापालाई १७ गते र शेरजंग गुरुङ्गलाई १८ गते पक्राउ गरिएको प्रहरीले जनाएको छ ।
प्रहरीले घटना स्थलबाट बिष्फोट पश्चात क्षेति भएका समानहरुको अवशेष र पक्राउ परेका व्यक्तिहरुबाट सिएफएन लेखिएको सानो, ठुलो पर्चा १०३ थान, सदस्यता कार्डको अर्ध कट्टी २८ थान, हिमाल सुरक्षा परिषद नेपालको पर्चा १ थान, हिमाल सुरक्षा परिषदको विभिन्न कमिटिको छाप ४ थान, लेटर प्याड पाना ७, रकम पठाएको र जम्मा गरेको आइएम रसिद ४ थान, विभिन्न बैङ्कको चेकबुक ३ थान, मोबाईल ५ थान समेत बरामद गरेको छ ।
पक्राउ परेकाहरुको जिल्ला अदालत सुनसरीबाट बम बिष्फोटन र संगठित अपराध मुद्दा शिर्षकमा म्याद थप गरी घटना सम्बन्धमा थप अनुसन्धान कार्य भईरहेको जिल्ला प्रहरी कार्यालय सुनसरीले जनाएको छ ।