
पूर्णपुष्टि, बैशाख १२
नेपालमा फेरी लकडाउन सुरु भएको छ । कोरोनाको उच्च बृद्धिले बिभिन्न ठाउँलाई तहस नहस पार्न थालेको छ । कोरोनाको जोखिम जिल्लाको रुपमा रहेको बाँकेलाई प्रशासनले लकडाउनको घोषणा गरेको छ । १ हप्ताको लागि लकडाउन घोषणा गरे सँगै सोमबार राती १२ बजे देखि लागु हुने गरी लकडाउनको घोषणा गरेको हो ।
आइतबार प्रमुख जिल्ला अधिकारी शिवराम गेलालले आदेश जारी गर्दै अर्को आदेश नभएसम्मका लागि अत्यावश्यक कामबाहेक हिँडडुलसमेत गर्न निषेध गरिएको जानकारी गराएका छन् ।
मास्क, भौतिक दुरीलगायत जनस्वास्थ्यको मापदण्ड पालना गरी उपभोग्य वस्तु बिहान ६ बजेदेखि ९ बजेसम्म मात्र सञ्चालन गर्न पाइने गरी लकडाउनको घोषणा गरिएको छ ।
अत्यावश्यक कामका लागि प्रयोग हुने सवारीसाधनबाहेक, पसल, हाटबजार बन्द गरिएको प्रशासनले जनाएको छ ।
स्वास्थ्य संस्था, शान्ति सुरक्षा, बिजुली, दुरसञ्चार, खानेपानी, फोहोरमैला व्यवस्थापन, ग्यास, पेट्रोलियम पदार्थ, तरकारी, खाद्य, दूध, औषधी पसल, एटिएम, सार्वजनिक निर्माण कार्य, पूर्वनिर्धारित परीक्षा र हवाई सेवा भने सञ्चालन हुनेछन् ।
यस्तै, एम्बुलेन्स, शववाहन, दमकल, झन्डावाला सवारी, कूटनीतिक, लामो दूरीका सवारीसाधन, मालवाहक सामान, निर्माण व्यवसायका साधन, अनुमति प्राप्त सवारीसाधनहरू मात्रै गुड्नेछन् ।
