
पूर्णपुष्टि, भदौ १६
बाटोमा भैँसीको मल राखेको विषयलाई दुई परिवार बीच झडप हुँदा एक महिलाका ज्यान गएको छ । सिरहाको कल्याणपुर नगरपालिका–१ डुमरीमा दुई परिवार बीचको झडपमा ६५ वर्षकी भाल्सैरदेवी यादवको ज्यान गएको हो ।
स्थानीय भाल्सैरदेवी यादव र जय यादव–श्रीदेव यादवको परिवारबीच झडप हुँदा भाल्सैरदेवीको ज्यान गएको जिल्ला प्रहरी कार्यालय सिरहाका प्रहरी नायव उपरीक्षक एवम् प्रवक्ता सुवास बुढाथोकीले जानकारी दिनुभयो ।
झडपमा जयकुमार यादव र श्रीदेव यादवले कुटपिट गर्दा यादवको घटनास्थल मै ज्यान गएको इलाका प्रहरी कार्यालय मिर्चैयाका प्रहरी नायव उपरीक्षक राजेन्द्र श्रेष्ठले बताउनुभयो । आरोपी जयकुमार यादव र श्रीदेव यादव फरार भएका छन् । घटनामा संलग्न सबैको तीव्र रुपमा खोजी भैरहेको प्रहरीले जानकारी दिएको छ ।
मृतकको शव पोष्टमार्टमका लागि लहान स्थित रामकुमार उमाप्रसाद स्मारक अस्पताल लहानमा राखिएको जिल्ला प्रहरी कार्यालय सिरहाले जनाएको छ । घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरी प्रवक्ता बुढाथोकीले जानकारी दिनुभयो ।
