
पूर्णपुष्टि सम्वाददाता
उदयपुर, भदौ २२ ।
गत भदौ १० गते आएको विनाशकारी बाढीबाट प्रभावित रसुवा, नुवाकोट, धादिङलगायत जिल्लाका नागरिकका लागि वाईसीएल नेपालले सञ्चालन गरेको होल्डिङ सेन्टर तथा सामूहिक मेसलाई ४ लाख ८३ हजार ३ सय ७२ रुपैयाँ बराबरको राहत सामग्री सहयोग गरिएको छ ।
बाढी तथा पहिरोबाट ठूलो जनधनको क्षति भएको अवस्थामा देश–विदेशमा रहेका नेपाली तथा डिजिटल प्लेटफर्म टिकटकमार्फत जोडिएका सहयोगीहरूले स्वतःस्फूर्त रूपमा रकम संकलन गरी वाईसीएलसँग समन्वय गरेर राहत सामग्री उपलब्ध गराएको किराती राष्ट्रिय मुक्तिमोर्चा का केन्द्रीय सदस्य सुरज किरातीले जानकारी दिनुभयो ।
सहयोगमा दाल, चामल, नुन, तेल, ग्यास, लत्ताकपडा लगायत होल्डिङ सेन्टरमा आवश्यक सामग्री रहेको राईले बताउनुभयो । आर्थिक चन्दा लगायत सरकारको एकद्वार प्रणालीद्वारा सहयोग पठाइएको भएपनि पीडितसम्म तत्काल पुर्याउनका लाग जिन्सी सहयोग गरिएको बताइएको छ ।
सामग्री हस्तान्तरणसँगै आज आयोजित अनलाइन प्रेसमिटमा सहयोगीहरूले सरकारको एकद्वार प्रणालीलाई सम्मान गर्दै प्रभावित नागरिकसम्म प्रत्यक्ष सहयोग पुर्याउने उद्देश्यले वाईसीएलद्वारा सञ्चालित होल्डिङ सेन्टरसँग समन्वय गरिएको बताएका छन् ।
प्रेसमिटमा सहभागीहरूले विपत्तिको समयमा राजनीतिक तथा अन्य विभाजनभन्दा माथि उठेर सबै नेपाली एकजुट भई पीडित नागरिकलाई सहयोग गर्नुपर्नेमा जोड दिए । बाढीबाट हजारौँ मानिस प्रभावित हुनुका साथै ठूलो मात्रामा भौतिक पूर्वाधारमा क्षति पुगेको भन्दै विपत्तिलाई सामूहिक प्रयासबाट सामना गर्नुपर्ने उनीहरूको भनाइ थियो ।
सहयोग अभियानमा स्वदेश तथा प्रवासमा रहेका नेपालीहरूको स्वतःस्फूर्त सहभागिता रहेको बताइएको छ । अभियानमा दक्षिण कोरिया, जापान, अमेरिका, युके, माल्टा, स्पेन, क्रोएसिया, साउदी, दुवई, मलेसिया, बहराइन, कतार, पोर्चुगल, साइप्रस, नेदरल्याण्ड लगायत विभिन्न देशमा रहेका नेपालीहरू सहभागी भएको किरामुमो केन्द्रीय सदस्य सञ्जाल किराँती बताउनुभयो ।
वाईसीएल नेपालले बाढी प्रभावित क्षेत्रमा होल्डिङ सेन्टर तथा सामूहिक मेस सञ्चालन गरी प्रभावित नागरिकलाई खाना तथा आवश्यक सामग्री उपलब्ध गराउँदै आएको वाईसीएल नेपालका केन्द्रीय अध्यक्ष पुस्प ओलीले बताउनुभयो ।
उहाँले “निभेको चुलो बाल्नु छ – मरेको आशा जगाउनु छ” भन्ने नारासहित राहत तथा उद्धार कार्यमा वाइसियल खटिरहेको बताउनुभयो ।
अध्यक्ष ओलीका अनुसार यस विपतको घडीमा अरुले नगरेको काम गर्ने र अरु नपुगेको ठाउँमा पुगेर पीडितलाई राहत तथा उद्धारमा सहयोग गर्न डटेर खटिरहेको बताउनुभयो । आइसिएलले जनयुद्धदेखि विपदमा गरेको कामको अनुभवलाई अहिलेको विपदमा सदुपयोग गरिरहेको पनि उहाँले बताउनुभयो ।
प्रेसमिटमा वाईसीएल नेपालका केन्द्रीय अध्यक्ष पुस्प ओली, केन्द्रीय उपाध्यक्ष नवीन खड्का, केन्द्रीय उपमहासचिव अनन्त प्रकाश श्रेष्ठ, पूर्व जनमुक्ति सेना आजाद खड्का, अन्तर्राष्ट्रिय नेपाली मञ्च कोरियाका उपाध्यक्ष राजेन्द्र फुयाल र नवीन परियार, किरामुमोका केन्द्रीय सदस्य सुरज किराती र सञ्जाल किराँती तथा अन्तर्राष्ट्रिय नेपाली मञ्च कान्साई क्षेत्रीय कमिटी जापानका अध्यक्ष अन्जन कुँवरलगायत सहभागी थिए ।
