Tuesday, May 12News That Matters

बाहिनीपति थापाद्वारा सुरक्षा तथा अपराध नियन्त्रणमा कडाइ गर्न निर्देशन

पूर्णपुष्टि /उदयपुर, वैशाख २९ ।

सशस्त्र प्रहरी बल, नेपाल नं. १ बराह बाहिनी मुख्यालयका बाहिनीपति डीआईजी मनीष थापाले उदयपुर जिल्लास्थित सशस्त्र प्रहरी बलका विभिन्न युनिटहरूको अनुगमन तथा निरीक्षण आज गर्नुभएको छ । निरीक्षणका क्रममा उहाले शान्ति सुरक्षा सुदृढ बनाउँदै अपराध नियन्त्रणमा प्रभावकारी भूमिका निर्वाह गर्न निर्देशन दिनुभयो ।
बाहिनीपति थापाले आफ्नो जिम्मेवारी क्षेत्रभित्र हुन सक्ने विपद् व्यवस्थापन, सवारी दुर्घटना न्यूनीकरण तथा अन्य आपराधिक गतिविधि नियन्त्रणका लागि उपलब्ध स्रोत साधनको अधिकतम परिचालन गर्न मातहतका कर्मचारीलाई निर्देशन दिनुभयो । उहाँले फिल्डमा खटिने सुरक्षाकर्मीहरूलाई सक्रिय, जिम्मेवार र परिणाममुखी ढंगले काम गर्न विशेष जोड दिनुभयो ।
निरीक्षणका क्रममा पछिल्लो समय समाजमा बढ्दै गइरहेका लागुऔषध दुव्र्यसन, अवैध ओसारपसार तथा विभिन्न आपराधिक क्रियाकलापप्रति संवेदनशील बन्न आग्रह गर्दै त्यस्ता गतिविधिविरुद्ध कडा रूपमा प्रस्तुत हुन निर्देशन दिनुभयो । समाजमा अशान्ति फैलाउने जो–कोहीलाई कानुनी दायरामा ल्याई कारबाही प्रक्रिया अगाडि बढाउन सचेत गराउनुभयो ।
डीआईजी थापाले राज्य र संगठनको मूल मर्मअनुसार नागरिकको सुरक्षा पहिलो प्राथमिकता भएको उल्लेख गर्दै जनताको विश्वास जित्ने गरी कार्य सम्पादन गर्नुपर्ने बताउनुभयो । सुरक्षाकर्मीलाई अनुशासित, पारदर्शी तथा जनमैत्री व्यवहार प्रदर्शन गर्दै संगठनको गरिमा उच्च राख्न समेत आग्रह गर्नुभयो ।
निरीक्षण तथा निर्देशन कार्यक्रमका क्रममा जिल्लास्थित युनिट प्रमुखहरूले आफ्नो क्षेत्रको सुरक्षा अवस्था, चुनौती तथा भइरहेको गतिविधिबारे जानकारी गराएका थिए । त्यस अवसरमा बाहिनीपति थापाले सीमा सुरक्षा, राजमार्ग सुरक्षा, विपद् उद्धार तयारी तथा सामुदायिक समन्वयलाई थप प्रभावकारी बनाउन सुझाव दिनुभयो ।
सशस्त्र प्रहरी बलले पछिल्लो समय अपराध नियन्त्रण, विपद् व्यवस्थापन तथा शान्ति सुरक्षामा सक्रिय भूमिका निर्वाह गर्दै आएको अवस्थामा बाहिनीपतिबाट भएको यो निर्देशनले जिल्लाको सुरक्षा व्यवस्थालाई थप प्रभावकारी बनाउने सशस्त्र प्रहरी बल नं. ५ गण हेक्वा त्रियुगा उदयपुरका सशस्त्र प्रहरी उपरिक्षक श्याममणी ढकालले बताउनुभयो।