
पूर्णपुष्टि, चैत्र २४ । बैदेशीक रोजगारमा गएर ज्यान गुमाएका नागरिकको बिमाबापतको रकम खाएको आरोपमा ६ जनालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा सर्लाहीका रूद्रमान गोले, प्रकाशबहादुर गोले, रवीन्द्र मोक्तान, विनोदकुमार लामा, डिकबहादुर मल्ल र काभ्रेका रामबहादुर तामाङ रहेका छन् ।
उनिहरुलाई वैदेशिक रोजगारीमा ज्यान गुमाएका वा विदामा नेपाल आउँदा ज्यान गुमाएका व्यक्तिको परिवारका सदस्यलाई बिमावापतको रकम उपलब्ध गराईदिने भन्दै आधाभन्दा बढी रकम खाएको आरोपमा पक्राउ गरिएको काठमाण्डौँ उपत्यका अपराध अनुसन्धान कार्यालयले जनाएको छ । कार्यालयका अनुसार ठगिएको २ जनाले प्रहरीमा उजुरी दिएपछि उनिहरुलाई बिहीबार काठमाडौंको गोंगबुबाट पक्राउ गरिएको हो ।
गिरोहका सदस्यहरू विदेशमा मृत्यु भएका व्यक्तिको शव आउने दिन विमानस्थलसम्म पुगेर बिमाको रकम उपलब्ध गराइदिने आश्वासन दिने गरेको कार्यालयका प्रमुख एसएसपी मनोज केसीले बताए । मृतक परिवारको सदस्यलाई उनिहरुले होटलमा राखेर उनिहरुको सबै कागजात आफैसँग लिएर बिमाको प्रक्रिया बढाउने गरेका थिए ‘केसीले भने’ उनिहरुले धेरै जसो मधेस प्रदेशका व्यक्तिहरुलाई निशाना बनाउने गरेको रहेछन् ।
एसएसपी केसीका अनुसार कसैले बिमावापतको १४ लाख पाउने छ भने उनिहरुले ८ लाख जति राख्ने र बाँकी पैसा मृतकका परिवारलाई दिने गरेको अनुसन्धानबाट खुलेको छ । पक्राउ परेका गिरोहलाई कसको शव कहिले आउँदैछ भन्ने जानकारी रोजगार विभागका नायब सुब्बा पशुपति अधिकारीले दिने गरेको अनुुसन्धानबाट खुलेको केसीले बताए । गिरोहलाई सुचना दिएवापत अधिकारीले २५ हजार रुपैँया सम्म पाउने गरेको उनले बताए । अधिकारीको मिलोमतो रहेकोले उनलाई समेत पक्राउ गरेको प्रहरीले जनाएको छ । पक्राउ परेका सबै जनाको सम्बन्धमा थप अनुसन्धान भईरहेको प्रहरीको भनाई छ ।
