
पूर्णपुष्टि, ९ साउन ।
भन्सार विभागको तथ्याङ्कअनुसार आर्थिक वर्ष २०७९(८० मा अहिलेसम्मकै सबैभन्दा धेरै विद्युतीय सवारी भित्रिएका छन् ।
सरकारले प्रत्येक वर्षको बजेटमार्फत विद्युतीय सवारीमा लाग्ने कर, भन्सार शुल्क र अन्तःशुल्क परिवर्तन गर्दै आइरहेको छ । यसका बाबजुद निजी कम्पनीहरुले आफ्नो पहलमा नेपालमा विद्युतीय सवारीको आयात र बिक्रीवितरण उल्लेख्य रुपमा गरिरहेका छन् । भन्सार तथ्याङ्कअनुसार गत आर्थिक वर्षमा नेपालमा ४ हजार ५० वटा विद्युतीय सवारी भित्रिएका छन् जुन, अहिलेसम्मकै धेरै हो ।
अघिल्लो आर्थिक वर्ष २०७८(७९ मा नेपालमा जम्मा १८ सय ७ वटा विद्युतीय सवारी भित्रिएका थिए । नेपालमा ५० किलोवाटदेखि ३०० किलोवाटभन्दा माथि क्षमताका सवारी साधन आयात हुँदै आइरहेका छन् । यसमध्ये ५० किलोवाटदेखि १०० किलोवाटसम्मका सवारी साधन सबैभन्दा धेरै आउने गरेका छन् । यसपछि १०० देखि २०० किलोवाट क्षमताका सवारी धेरै आउने गरेका छन् ।
२०० किलोवाटदेखि माथिका विद्युतीय सवारी भने न्यून रुपमा आयात हुँदै आइरहेका छन् । विभागको तथ्याङ्कअनुसार अघिल्लो आर्थिक वर्षको तुलनामा गत आर्थिक वर्षमा २२ सय ४३ वटा बढी विद्युतीय सवारी साधन भित्रिएका छन् । यो अहिलेसम्मकै सबैभन्दा धेरै हो ।
तथ्याङ्कअनुसार यस अवधिमा विद्युतीय सवारीको आयात हुँदा नेपालबाट ११ अर्ब ८१ अर्ब रुपैयाँ बाहिरिएको छ । अघिल्लो आर्थिक वर्ष २०७८÷७८ मा विद्युतीय सवारीमा ५ अर्ब ३१ अर्ब रुपैयाँ बाहिरिएको थियो । नेपाल विद्युत प्राधिकरणका सहायक नायब प्रबन्धक सागर ज्ञवाली चार्जिङ स्टेसनको उपलब्धताका कारण विद्युतीय सवारीको संख्या बढिरहेको बताउँछन् ।
ज्ञवालीले प्राधिकरणको नेतृत्वदायी भूमिकाका कारण पछिल्लो समय चार्जिङ स्टेसनको संख्या बढिरहेको र सोहीकारण विद्युतीय सवारीको संख्या बढिरहेको बताए । ‘हामीले चार्जिङ स्टेसन बनाउन निजी क्षेत्रलाई सहयोग गरिरहेका छौँ,’ ज्ञावलीले भने, ‘निजी क्षेत्रलाई चार्जिङ स्टेसन बनाउन चाहिने आवश्यक पूर्वाधार सहयोग गरिरहेका छौँ ।’
अर्थमन्त्री डा। महतले १०० देखि २०० किलोवाटसम्मका विद्युतीय सवारीको भन्सार महसुल २० प्रतिशत र अन्तःशुल्क महसुल समेत २० प्रतिशत कायम गर्ने घोषणा गरेका थिए । यस्तै, सडक निर्माण दस्तुर ५ प्रतिशत पुगेको छ । यो क्षमताका विद्युतीय सवारीमा लाग्दै आएको भन्सार र अन्तःशुल्क समान १०(१० प्रतिशत घटाइएको छ ।
प्राधिकरणले बनाउने चार्जिङ स्टेसनमा जग्गा अधिग्रहण लगायतका समस्या आएपछि निजी क्षेत्रलाई प्रोत्साहन गर्ने नीति अघि बढाएको हो ।
प्राधिकरणले निजी क्षेत्रलाई प्रोत्साहन गर्नुका साथै केही स्थानमा आफैँले समेत चार्जिङ स्टेसन बनाउँदै आइरहेको छ । प्राधिकरणले हालसम्म देशका विभिन्न स्थानमा ५१ वटा चार्जिङ स्टेसन बनाइसकेको ज्ञवालीको भनाइ छ । यसबाहेक, निजी क्षेत्रले बनाएको सानो क्षमताका चार्जिङ स्टेसनको संख्या १५० हाराहारी छन् । यस्तै, फास्ट चार्जिङ स्टेसनको संख्या ३० वटा हाराहारी छन् । र, हालसम्म नेपालमा बनेका सानाठूला र निजी क्षेत्र र प्राधिकरणको गरी देशभर कुल २३० वटा चार्जिङ स्टेसन रहेको ज्ञवालीको भनाइ छ ।
हाल नेपालमा करिब दर्जन वटा कम्पनीले विद्युतीय सवारी आयात तथा बिक्रीवितरण गर्दै आइरहेका छन् । बीवाईडी, टाटा, हुन्डाई, किया, महिन्द्रा, सुजुकी, नेटाभी, रेनल्ट, एमजी र टेस्लाका विद्युतीय सवारी आउँछन् । यसमध्ये टेस्लाको आधिकारिक बिक्रेता छैन । नेपाल भित्रिने विद्युतीय सवारी साधनमध्ये टाटाको हिस्सा सबैभन्दा धेरै छ ।
