
पूर्णपुष्टि, १३ फागुन ।
चिरा परेको पिलर टालटुल गरेर इन्जिनियर र ठेकेदारले निर्माणाधिन गाईघाट खानेपानी आयोजना उपभोक्ता समितिको भवनको काम अगाडी बढाउन खोजेको पाइएको छ । एउटा पिलरमात्र हैन भवनको सबै ठाडो पिलर र जगको तेर्सो पिलर सबै चर्केको, मसला नभरिएका खाल्डाखुल्डी, कमजोर छन् । दर्जनौ चर्केको र भत्केको ठाउँमा सिमेन्ट घोलेर लिप्ने, टाल्ने काम भएको छ । यस्तो अवस्थामा पनि सम्बन्धीत समिति र त्रियुगा नगरपालिका चुप बसेको छ ।
कमसल निर्माण सामग्री प्रयोग, काममा लापरवाहीले निर्माणाधिन भवनमा ठुलो भ्रष्टाचार हुनसक्ने देखिएको छ । चुप बस्नुले मेयर, उपमेयर, प्रमुख प्रशासकीय अधिकृत, वडाध्यक्ष र समितिको मिलेमतो देखिएको छ । संघीय सरकारको बजेटबाट बन्ने सो आयोजनाको सम्पूर्ण काम नगरपालिकाको मातहतमा हुन्छ । यसको निगरानी र नियमतबाट हुन्छ ।
कमजोर र लापरवाही काम गर्ने ठेकेदार, जिम्मेवार इन्जिनियरलाई जवाफदेहि र जिम्मेवार बनाउने काम स्थानीयतह अन्तर्गत नगर र वडा कार्यालयको हो तर, यसरी चुप बस्नुले भ्रष्टाचारमा संलग्नता देखिन्छ । सरकारी बजेटको भवन कमजोर किन, लापरवाही किन भन्ने विषयमा गम्भिर छानविन हुनुपर्ने माग स्थानीयको छ । भवन निर्माणमा खटाइएका कामदारहरुलाई ज्यालासमेत नदिएको गुनासो आएको छ । भवन निर्माण हुदै गर्दा कहाँ, कसरी बन्दैछ, कसले काम गर्दैछ भन्ने जानकारीसम्म नदिएको र पछि एक्कासी काम हेर्दा लापरवाही र कमजोर देखिएको साकेला टोल विकास संस्थाकी अध्यक्ष गिता राईले बताइन् । जग निर्माणदेखि नै कमजोर र लापरवाही भएकोमा स्थानीयले खबरदारी गरेको भएपनि वेवास्ता गरिएको थियो ।
त्रियुगा नगरपालिका ११ साकेलाटोलमा निर्माणाधिन सो भवन थप १२ र १३ नम्बर वडासमेतका लागि खानेपानी विस्तारका लागि हो । लाखौं खर्च भइसकेको निर्माणाधिन सो भवनलाई टालटुल पारेर निर्माण अगाडी बढाइ सम्पन्न गराउने इन्जिनियर र ठेकेदारको दाउ देखिएको छ । लापरवाही र कमजोरीको कुरा मिडियामा सार्बजनिक भइरहदा पनि चुप बस्नुले नगरपालिका र समितिको मिलेमतो देखिएको छ । यस्तो मिलेमतोमा हुनसक्ने भ्रष्टाचारप्रति स्थानीयको खबरदारी निरन्तर रहेको छ ।
इन्जिनियर मौसम ठाकुरले त्यहाँको कामप्रति प्रश्न उठिसकेपछि हाललाई काम रोक्न निर्देशित गरेको बताए । आधिकारिकरुपमा निरिक्षण तथा परिक्षण पछि मात्र काम बढाउने बताए । टालटुल गर्ने काम बारे जानकारी नभएको बताए । खानेपानी आयोजनातर्फका इन्जिनियर सुजित महतोले कमजोरीको छानविन र एकिन गरेर मात्र काम अगाडि बढाउने बताए । त्यहाँ टालटुल गर्ने काम भएकोबारे उनले पनि अनविज्ञता प्रकट गरे ।
प्रमुख प्रशासकीय अधिकृत विष्णुभक्त सिग्देललाई त्याहाँ भवन बन्दै गरेको कुरासमेत जानकारी छैन । कमजोरीको बारे सम्पर्क गर्दा भवन बन्दै गरेको कुराप्रति नै अनविज्ञता प्रकट गर्दै नगरक्षेत्रमा अनुगमनको जिम्मा उपमेयरको भएको बताए ।
उपभोक्ता समितिका अध्यक्ष प्रकास बस्नेतले निर्माणाधिन भवनको निगरानी मात्र समितिको जिम्मा भएको र बाँकी सबै काम केन्द्रबाटै हुने बताए । आज मेयर, उपमेयर, इन्जिनियरसहित अनुगमन गरिने बताए ।
