Tuesday, June 9News That Matters

बीमाको पैसा लिने उद्देश्यले गाडीमा आगो लगाउने चालक पक्राउ

पूर्णपुष्टि, फागुन १ गते । बर्दीयामा बीमाको पैसा लिने उद्देश्यले गाडीमा आगो लगाउने चालक पक्राउ परेका छन् । पक्राउ पर्नेमा मधुवन नगरपालिका–२ गंगापटुवाका रामु चौधरी रहेका छन् । आइतबार राति २ बजे मधुबन नगरपालिका–०४ बसन्तास्थितमा लु २ ख २०८४ नम्बरको फोर्स गाडी आगलागी भएको अवस्थामा प्रहरीले फेला पारेको थियो ।

जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी प्रहरी नायव उपरीक्षक हिक्मतबहादुर बोहराले घटनाको अनुसन्धान गर्ने क्रममा चालक चौधरी आफैंले आगजनी गरेको स्वीकार गरेको बताए । उनले भने गाडी बिग्रिएको र मर्मतको लागि ग्यारेजमा लैजाँदा धेरै रकम लाग्ने भएपछि बीमाको रकम दाबी गर्ने मनसायले आगजनी गरेका रहेछन् । माघ २९ गते साँझ ८ बजे अर्को जिपले तानेर उक्त गाडीलाई चालकले जंगल क्षेत्रमा पर्ने बसन्ता पुर्‍याएका थिए । त्यसपछि डिजल छर्केर आगजनी गरेका हुन् ।