Monday, June 22News That Matters

बेलसाेत क्वारेन्टाइन, प्रदेश भरकै राम्राे

पूर्णपुष्टि, चैत २४ ।

उदयपुरमा रहेको सबैभन्दा ठूलो र व्यवस्थित क्वारेन्टाइको आज अनुगमन भएको छ । कटारी नगरपालिकाको त्रिवेणी बेलसोत स्थित दुईसय बेडको क्वारेन्टाइनको अनुगमन भएको हो ।  प्रदेशभरमै सबैभन्दा राम्राे व्यवस्थापन रहेकाे पाइएकाे अनुगमन टेालीकाे प्रतिक्रिया छ ।

नेपाली सेनाको व्यवस्थापनमा रहेको उक्त १ नं. प्रदेश क्वारेन्टाइनको प्रदेश सरकारको तर्फबाट आएको अनुगमन टोली र जिल्लाको तर्फबाट प्रमुख जिल्ला अधिकारी र सुरक्षा प्रमुखहरु सम्मिलित टोलीले अनुगमन गरेको हो । उक्त क्वारेन्टाइनमा हाल २६ जना रहेका छन् । ३४ वटा ब्लक भवनलाई पाँच क्लस्टरमा विभाजित गरी दुईसय वटा बेड राखिएका छन् । महिलाहरुका लागि छुट्टै एउटा क्लस्टरमा ४५ बेड बनाइएका छन् । नेपाली सेनाको १८ नं. वाहिणी अन्तर्गत बोक्सेस्थित रणसार्दुल गण अन्तर्गतको बेलसोत सुरक्षा गुल्ममा क्वारेन्टाइन बनाइएको हो । सेनाले आफु बसेको ठाउँसमेत खाली गरेर क्वारेन्टाइन बनाएको हो ।

दुईसय वटै बेडहरुमा ओढ्ने, ओछ्याउने, सिरान, तन्ना, झुल, पंखाको राम्रो व्यवस्था गरिएको छ । त्यस्तै साबन, तुथपेष्ट, ब्रस, साबन, सेनिटाइजर र चप्पल ब्यवस्था रहेको छ । हरेक बेडसंगै एकवटा कुर्सी पनि राखिएका छन् । बेडको दुरी मापदण्ड अनुरुप ६ फिटको दुरीमा राखिएका छन् । कोठाभित्र र बाहिर विशेष सरसफाई गरिएका छन् । सबै क्लवकमा खानेपानी, चर्पीको राम्रो व्यवस्था मिलाइएको छ । साथै वाईफाई र टिभी हेर्ने ब्यवस्था पनि मिलाइएको छ ।

अनुगमनको क्रममा क्वारेन्टाइनको सामानहरु हेरिएको थियो । कोठा, बेड, बेडका सामानहरु, पंखा, चर्पी खानेपानी आदि हेरिएको थियो । आवश्यक ती सबै कुराहरु क्वारेन्टाइनको मापदण्ड अनुरुप पाइएको अनुगमन टोलीले जनाएको छ । क्वारेन्टाइनमा बसिरहेका २६ जनासंग नै अनुगमन टोलीले भेट गरी उनीहरुको अवस्थाको बारेमा जानकारी लिएको थियो । बसाईको अवस्था र स्वस्थ्यको अवस्था बारे जानकारी लिएको थियो । त्यहाँको अवस्थाको बारेमा रणसार्दुल गणका गणपती अर्जुन बोहोराले जानकारी दिनुभएको थियो ।

बसाईको अवस्था राम्रो रहेको, खानाको ब्यवस्था राम्रो रहेको र वाईफाई र टिभीकोसमेत व्यवस्थाले आफुहरुलाई सहजा भएको त्यहाँ बसेकाहरुले बताएका थिए । उनीहरुसंग अन्तरक्रियासमेत गरिएको थियो । त्यसक्रममा उनीहरुले बसाईको अवधी १४ दिन पुग्न दुई दिन बाँकी रहेकाले घर जाने इच्चा व्यक्त गरेका थिए ।

अनुगमन टोलीको तर्फबाट संघीय सांसद सुरेशकुमार राईले त्यहाँ बसेकाहरुलाई सान्त्वना दिदै क्वारेन्टाइनमा बस्नु भनेको कोरोना भाइरसको संक्रमण नियन्त्रणमा सरकारलाई सहयोग गर्नु भएको बताउनुभयो । साथै आफु, परिवारका सदस्य र समाजलाई संक्रमणबाट जोगाउनु भएको बताउनुभयो । सरकारले पछिल्लो समय निर्देशन गरे बमोजिम अन्तिम स्वस्थ्य परिक्षण गर्नुपर्ने र त्यसमा स्वस्थ्य समस्या नदेखिए घर पठाइने, समस्या देखिएमा उपचारमा पठाइने जानकारी दिनुभयो । उहाँले १ नं. प्रदेशकाे अन्य क्वारेन्टाइनकाे दाजाेमा बेलसाेतकाे राम्राे रहेकाे बताउनुभयाे । त्यस्तै अनुगमन टोली सदस्य, संविधानसभा सदस्य एवम् नेपाली कांग्रेसका नेता डिगबहादुर लिम्बुले क्वारेन्टाइनमा बस्दा सिकेका कुराहरु जनचेतनाको रुपमा गाउँघरमा बाड्न सकिने बताउनुभयो । जनचेतना जगाउनु पनि अहिलेको महत्वपूर्ण काममा पर्ने भएकाले त्यस किसिमको योगदान गर्न आग्रह गर्नुभयो । आफु बच्ने, परिवारलाई बचाउने, समाजलाई बचाउने र सिंगो देशलाई बचाउने यो अभियानमा लाग्नुपर्ने बताउनुभयो । अन्य ठाउँको क्वारेन्टाइन भन्दा राम्रोसंगले बसेको पाइएको भन्दै उहाँले सान्त्वना दिनुभयो ।

अनुगमनपछि नेकपाका नेता सावित्रीकुमार काप्mलेले क्वारेन्टाइनको अवस्था राम्रो पाइएको प्रतिक्रिया दिनुभयो । क्वारेन्टाइनमा बस्नेहरुको उच्च मनोबल बढाउने किसिमको स्वस्थ्य परिक्षण, परामर्श बढाउनु पर्ने सुझाव राख्दै नेपाली सेनाको कामको प्रशंसा गर्नुभयो ।

प्रमुख जिल्ला अधिकारी दिपककुमार पहाडीले अन्तिम स्वस्थ्य परिक्षणको आधारमा स्वस्थ्य अवस्था सामान्य रहेकाहरुलाई सम्बन्धीत पालिकासंग समन्वय गरेर घर पठाइने बताउनुभयो । सकेसम्म छिटो परिक्षणको काम सकेर पठाइने उहाँले बताउनुभयो ।

प्रदेश सरकारतर्फको अनुगमन टोलीमा प्रदेश सांसदहरु नारायणबहादुर बुर्जामगर, विमल कार्की, कला घले, हिमाल कार्की लगायत पनि हुनुहुन्थ्यो । त्यस्तै पार्टीका नेताहरु, त्रियुगा नगरपालिका मेयर बलदेव चौधरीको उपस्थिति थियो । जिल्लाको तर्फबाट प्रजिअ पहाडीको नेतृत्वमा सहायक प्रमुख जिल्ला अधिकारी भिमप्रसाद भट्टराई, जिल्ला प्रहरी प्रमुख एसपी बीरबहादुर बुढामगर, सशस्त्री प्रहरीका एसपी गाहरधन राई, अनुसन्धान कार्यालयका उपनिर्देशक नागेन्द्र दाहाल हुनुहुन्थ्यो । कटारी नगरपालिकाका मेयर ज्ञानेन्द्र श्रेष्ठ, उपमेयर भिमकुमारी राउत लगायतको पनि उपस्थिती रहेकाे थियाे ।

भिडियाे हेर्नका लागि लिंक : https://www.youtube.com/watch?v=ob2BB6dl3fo

फाेटाे फिचर