
पूर्णपुष्टि, मंसिर २३
बेलायतमा कोरोना भाईरस (कोभिट १९) को खोप प्रयोग गर्न सुरु गरिएको छ । अग्रपंक्तिमा काम गर्ने स्वास्थ्य कर्मचारी, ८० वर्ष नाघेका वृद्धवृद्धा र केयर होमका कामदारलाई पहिलो प्राथमिकतामा राखी खोप प्रयोग सुरु गरिएको छ ।
राष्ट्रिय स्वास्थ्य सेवा, इंग्ल्यान्डका मेडिकल डाइरेक्टर प्रोफेसर स्टेफेन पोविसले यो बेलायतकै इतिहासमा जटिल र बृहत् खोप अभियान भएको बताए ।
अमेरिकी कम्पनी फाइजर र यसको जर्मन साझेदार बायोएनटेकले संयुक्त रुपमा विकास गरेको खोप पहिलो चरणमा बेलायतभरका ५० अस्पतालबाट सुरु गरिएको हो ।
बीबीसीका अनुसार उत्तरी आयरल्यान्डकी ९० वर्षीया महिलालाई पहिलो कोरोना खोप दिँदै खोप प्रयोगमा सुरु गरिएको थियो । ति महिला विश्वमै कोरोना खोप लगाउने ’पहिलो’ व्यक्ति समेत बनिन् ।
कोभेन्ट्रीमा रहेको युनिभर्सिटी हस्पिटलमा ९० वर्षीया मार्गरेट कीननलाई पहिलो पटक कोरोना खोप दिइएको हो । कीननले कोरोना खोप लिन पाउँदा आफू भाग्यमानी महसुस भएको बताईन् ।
एनएचएस इंग्ल्याण्डका प्रमुख कार्यकारी सर साइमन स्टेभेन्सले खोप अभियान कोरोना भाइरसविरुद्धको लडाईंमा निर्णायक मोड भएको प्रतिक्रिया दिंदै आगामी वसन्त ऋतुसम्म खोप कार्यक्रम जारी रहने र यो बेला मानिसलाई धेरै होसियार रहन सुझाएका छन् ।
कोरोनाविरुद्धको खोप लगाएपछि प्रतिक्रिया दिँदै अर्को हप्ताबाट ९१ वर्षमा प्रवेश गर्दै गरेकी कीननले भनिन्, ’कोभिड(१९ विरुद्ध खोप लगाउने पहिलो व्यक्ति बन्न पाउनु नै मेरा लागि जन्मदिनको विशेष उपहार हो ।’ उनले नयाँ वर्ष परिवार र साथीहरुसँग मनाउन चाहेको पनि बताएकी छिन् । मंगलबार कोरोनाविरुद्धको पहिलो डोजको खोप लगाएकी कीननले दोस्रो डोज २१ दिनपछि लगाउनेछिन् ।
स्कटल्यान्ड र वेल्सले पनि मंगलबारदेखि खोप वितरण सुरु गरेका छन् । बेलायतमा पहिलो चरणमा आउँदो सातासम्म ८ लाख डोज भ्याक्सिन दिइने छ । खोप लगाएका प्रत्येक मानिसलाई खोप कार्ड उपलब्ध गराइने भएको छ । स्वास्थमन्त्री म्याट हेनककले ट्वीट गर्दै सबै क्षेत्रमा खोप पुगिसकेको जनाएका छन् ।
