Thursday, April 30News That Matters

बैंकद्वारा जिप्रका उदयपुरलाई १४ वटा सिसिटिभी क्यामेरा हस्तान्तरण

पूर्णपुष्टि, पुष ८ । गाईघाट बजारको सुरक्षा व्यवस्थापनलाई थप प्रभावकारी बनाउने उद्देश्यले स्थानीय ६ वटा बैंकहरुले जिल्ला प्रहरी कार्यालय उदयपुरलाई १४ वटा सिसिटिभी क्यामेरा हस्तान्तरण गरेका छन् । त्रियुगा नगरपालिका र जिल्ला प्रहरी कार्यालय उदयपुरसँगको सहकार्यमा गाईघाट स्थित राष्ट्रिय वाणिज्य बैंक, कृषि विकास बैंक, सानिमा बैंक, ग्लोबल आईएमई बैंक, लक्ष्मी सनराइज बैंक र सिद्धार्थ बैंकका शाखा प्रमुखहरुले यी क्यामेराहरु हस्तान्तरण गरेका हुन् ।

जिल्ला प्रहरी कार्यालय उदयपुरका प्रमुख प्रहरी उपरीक्षक हरिहर नाथ योगीले यस पहलले प्रहरी र समुदायबीचको सहकार्यको उत्कृष्ट उदाहरण प्रस्तुत गरेको बताए । उनले सिसिटिभी निगरानी व्यवस्थाको प्रभावकारी सञ्चालनले विशेषगरी बैंक तथा वित्तीय संस्थामा हुनसक्ने सम्भावित अपराध रोकथाममा महत्वपूर्ण सहयोग पुग्ने विश्वास व्यक्त गरे । यी क्यामेराहरु जिल्ला प्रहरी कार्यालय उदयपुरको प्रत्यक्ष निगरानीमा सञ्चालन गरिने र यसले गाईघाट बजार क्षेत्रको समग्र सुरक्षा व्यवस्थालाई थप सुदृढ बनाउने अपेक्षा गरिएको छ ।