
पूर्णपुष्टि, २६ असार ।
बैतडीमा लम्पी स्किन रोगले भयानक रुप लिएको छ । भेटेरेनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्र पाटनका अनुसार रोग प्रकोपको रुपमा फैँलिदै नियन्त्रण बाहिर गएको जनाएको छ।
यो रोग नियन्त्रणबाहिर पुग्दा पनि जिल्लामा हालसम्म खोपको उपलब्धता हुन नसकेको केन्द्रका पशु विकास अधिकृत तथा लम्पी स्किन सम्पर्क व्यक्ति डा विशाल पाठकले जानकारी दिए।
यो रोगबाट हालसम्म ६४ हजार एक सय ९७ घरपालुवा पशु सङ्क्रमित छन् । उक्त रोगका कारण नौ हजार दुई सय ९८ पशुचौपाया मरिसकेका उहाँले बताए । लम्पी स्किनका कारण बाच्छाबाच्छी, गाईगोरू र भैँसी बढी प्रभावित भएका छन्। उनले भने ‘लम्पी स्किनको सङ्क्रमण दिनप्रतिदिन बढिरहेको भए पनि हालसम्म जिल्लामा खोपको उपलब्धता हुनसकेको छैन । प्रदेश र केन्द्र सरकारलाई खोपको उपलब्धताका लागि अनुरोध गरिसकेका छौं।’
लम्पी स्किनबाट धमाधम पशुचौपाया मर्न थालेपछि किसान चिन्तित बनेका सङ्क्रमित रहेका भेटेरेनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्रका प्रमुख गुमानीदत्त पन्तले बताए। उनले भने, ‘जिल्लाका ८४ वटै वडामा यो रोग फैलिसकेको छ। लेकाली गाउँमा कम छ। अन्य गाउँमा महामारीकै रूपमा फैलिएको छ।’
नियन्त्रणका लागि सामान्य औषधोपचार भइरहेको भए पनि नियन्त्रण हुन नसकेको उनको भनाइ छ। लम्पी स्किनको औषधि नभएका कारण यो रोगबाट प्रभावित पशुको उपचारमा समस्या भएको छ।
बैतडीमा गत मङ्सिरमा पाटनमा केही पशुचौपायामा यसका लक्षण देखापरेको र परीक्षण गर्दा गत फागुनमा यो रोग प्रमाणित भएको थियो। पशुचौपायामा ज्वरो आउने, सिङ्गान तथा र्याल बगाउने, शरीरमा गिर्खा आउने, खुर पाक्नेलगायत लक्षण देखिने गरेका छन्।
यो रोग झिङ्गा, मच्छर र किर्नाले टोकेमा वा दानापानी, चरन क्षेत्र र पशुको आपसमा सङ्सर्गका माध्यमबाट फैलिने भएकाले सचेत रहन सबैमा अपिल गरिएको छ। रोग नियन्त्रण गर्न किसानले भुसुना, किरा र लामखुट्टे नियन्त्रणका लागि गोठको सरसफाइ, भकारो ९पर्सो० व्यवस्थापन र चरन क्षेत्रको ख्याल गर्नुपर्ने जनाइएको छ।
