Friday, May 22News That Matters

बैतडीमा १ महिनामा ४९ जनामा स्क्रब टाइफस

पूर्णपुष्टि, भदौ १९

बैतडीमा एक महिनामा ४९ जनामा स्क्रव टाईफसको विरामी फेला परेको छ । गत साउनयता बैतडीमा स्क्रब टाइफसका ४९ जना बिरामी फेला परेको स्वास्थ्य कार्यालय बैतडीले जनाएको छ ।

दशरथचन्द नगरपालिकामा २५ महिला र ११ पुरुष गरी ३६ जनामा स्क्रब टाइफसको सङ्क्रमण पुष्टि भएको छ । त्यस्तै पाटन नगरपालिकामा तीन महिला र एक पुरुष गरी चार, दोगडाकेदार गाउँपालिकामा चार महिला र दुई पुरुष गरी छ, मेलौली नगरपालिकामा एक महिला, पञ्चेश्वर गाउँपालिकामा एक पुरुष तथा सिगास गाउँपालिकामा एक महिलामा स्क्रब टाइफस पुुष्टि भएको जनाईएको छ ।

जिल्ला अस्पताल बैतडी र अन्य स्वास्थ्य संस्थाहरुमा उपचारका लागि पुगेका व्यक्तिहरुको आरडीटी जाँच गर्दा स्क्रब टाइफस देखिएको कार्यालयले जनाएको छ ।

गत आर्थिक वर्षमा जिल्लाभरि ४० जनामा स्क्रब टाइफसको सङ्क्रमण पुष्टि भएको थियो । यो वर्ष भने एक महिनामै ४९ जनामा स्क्रब टाइफसको सङ्क्रमण पुष्टि भएको जनाएको छ ।

माइट नामक किर्नाको टोकाइबाट स्क्रब टाइफस हुन्छ । झाडी, झ्याङ भएका ठाउँमा माइट बस्ने भएकाले सकभर त्यस्तो ठाउँमा नबस्न स्वास्थ्यकर्मीहरुले आग्रह गरेका छन् ।

स्क्रब टाइफस भएमा उच्च ज्वरो आउने, धेरै टाउको दुख्ने, शरीरमा राता डाबरहरु आउनेलगायतका लक्षण देखा पर्छ गर्दछ ।

त्यस्तै जिल्लामा डेङ्गुका बिरामी पनि देखिन थालेका स्वास्थ्य कार्यालयले जनाएको छ । जिल्लाको दशरथचन्द नगरपालिकाका दुई महिला र एक पुरुषमा डेङ्गु देखा परेको जनाएको छ । डेङ्गु एडिज नामको पोथी लामखुट्टेको टोकाइबाट हुने भएकाले लामखुट्टेको टोकाइबाट बच्नुपर्नेमा जनाईएको छ ।

डेङ्गु भएमा पनि उच्च ज्वरो आउने भएकाले यस्ता लक्षण देखिएमा स्वास्थ्य संस्थामा जान स्वास्थ्यकर्मीहरुले आग्रह गरेको छ ।