Friday, July 17News That Matters

बैशाख ११ गते धरहराको उद्घाटन हुने

पूर्णपुष्टि, चैत ३०

आगामी वैशाख ११ गते पुनर्निर्माण गरिएको धरहराको प्रधानमन्त्री केपी शर्मा ओलीले उद्घाटन गर्ने भएका छन् । धरहराको टावरतर्फको भाग उद्घाटन गर्न लागिएको हो ।

धरहराको टावर बनाउने काम अन्तिम चरणमा पुगेको नेपाल पुनर्निर्माण प्राधिकरणले जनाएको छ । अहिले रंग लगाउने र बत्ती जोड्ने काम भइरहेको छ । गजुर पनि केही दिनभित्रै राखिने जनाईएको छ ।

२०७२ वैशाख १२ गतेको भूकम्पले ढलेको धरहरा २०७८ वैशाख ११ गते पुनर्निमाणपछि फेरि उद्घाटन हुने भएको छ । धरहराको पार्किङ र बगैँचातर्फको काम भने सकिएको छैन ।

वरपरको २९ रोपनीमा विस्तारित सुन्धारालाई समेटेर पार्क बनाउने सरकारी योजना अनुसार ३ अर्ब ८ करोड लागतमा रमण कन्स्ट्रक्सनले ठेक्का पाएको थियो ।

गोश्वारा हुलाक र टक्सार विभागको २३ रोपनी जग्गा खाली गरेर त्यहाँ पार्क बनाउन लागिएको हो । धरहरा परिसरमा म्युजियम, थिएटर, वाटर फाउन्टेन, आकर्षक बगैंचा, रेष्टुराँ, पार्किङलगायतका सुविधा हुनेछन् ।

पार्कतर्फ काम नसकिएपछि भूकम्पले क्षतिग्रस्त सम्पदा उठ्नु गौरवको विषय भएकाले वैशाख १२ गते अघि नै उद्घाटन गर्न लागिएको प्राधिकरणले जनाएको छ ।

धरहरा बाहिरबाट हेर्दा पुरानै डिजाइनमा बने पनि भित्र सुविधासम्पन्न छ । बाहिरबाट ११ तलाको देखिने धरहराको भित्री संरचना २२ तलाको रहेको छ ।

१९९० सालको भुइँचालोअघि धरहरा ११ तलाको थियो । भुइँचालोले दुई तला भत्किएपछि ९ तलामा सीमित भएको थियो । धरहरामा दुई तला अन्डरग्राउन्ड बेसमेन्ट रहेको जनाएको छ ।

धरहराको टावरमा चढ्ने र ओर्लिने दुईतर्फी लिफ्ट हुनेछ । अहिले भग्नावशेष रहेको असली धरहराको भागलाई सिसाले ढाकेर संरक्षण गरेर राख्ने योजना भएपनि अहिले सिसा भित्र हालिएको छैन ।