Thursday, May 21News That Matters

ब्राउन सुगर र प्रतिबन्धित औषधि सहित ३ जना पक्राउ

पूर्णपुष्टि, पुष १२ । मोरङको दुई छुट्टाछुट्टै स्थानबाट लागुऔषध ब्राउनसुगर र प्रतिबन्धित औषधी सहित ३ जनालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा दुहबी– ९ का ३० बर्षीय मो.सहबाज र पछाडी सवार २७ बर्षीय मो.जावेद आलम र पथरीशनिश्चरे नगरपालिका– १० का ३६ बर्षीय नारायण राई रहेको कोशी प्रदेश प्रहरी कार्यालय बिराटनगरले जनाएको छ ।

कोशी प्रदेश प्रहरी कार्यालय बिराटनगरका अनुसार बुधबार बिराटनगर महानगरपालिका–१६ दरैया स्थितमा लागुऔषध नियन्त्रण ब्युरो बिराटनगरबाट खटिएको प्रहरी टोलीले भारतबाट नेपालतर्फ आउदै गरेको को.१९ प ८६० नम्बरको मोटसाईकल चेकजाँच गर्ने क्रममा सहबाज र जावेदको साथबाट १ ग्राम ९ मिलिग्राम ब्राउनसुगर फेला पारेसँगै उनिहरुलाई नियन्त्रणमा लिएको हो ।

सोही दिन ईलाका प्रहरी कार्यालय पथरीबाट खटिएको प्रहरी टोलीले पथरीशनिश्चरे नगरपालिका–१० स्थितमा राईलाई प्रतिबन्धित औषधि सहित नियन्त्रणमा लिएको कोशी प्रदेश प्रहरी कार्यालय बिराटनगरले जनाएको छ । राईको साथबाट प्रहरीले स्पासपेन, ट्रमाडोल र डाईक्लोमाईन गरी ३६ चक्की बरामद गरेको प्रहरीले जनाएको छ । पक्राउ परेका उनिहरुको सम्बन्धमा थप अनुसन्धान भईरहेको प्रहरीले जनाएको छ ।