पूर्णपुष्टि, पुष २० गते ।
झापाका बिभिन्न स्थानहरुबाट नियन्त्रीत लागुऔषध ब्राउनसुगर सहित ४ जनालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा कन्काई नगरपालिका–५ का २२ बर्षीय गौरव चुडाल , ४४ बर्षीय भिम बहादुर बस्नेत, २८ बर्षीय दिलिप लिम्बु र अर्जुनधारा नगरपालिका–७ का २३ बर्षीय बामदेव मिश्र रहेका छन् ।
मंगलवार दिउँसो प्रहरी चौकी टाघनडुब्बाबाट खटिएको प्रहरी टोलीले मे ८ प ५३४४ नम्बरको मोटरसाईकललाई चेकजाँच गर्ने क्रममा मोटरसाईकलमा सवार रहेका चुडाल र बस्नेतलाई ३ ग्राम ७०० मिलिग्राम लागुऔषध ब्राउनसुगर र १ थान डिजिटल तराजु सहित पक्राउ गरेको हो ।
यसैगरी इलाका प्रहरी कार्यालय काकरभिट्टा र लागुऔषध नियन्त्रण ब्युरो काँकरभिट्टाबाट खटिएको प्रहरी टोलीले मेचीनगर नगरपालिका –६ भट्टराई चौकबाट स्थानीय दिलिप लिम्बुलाई १ ग्राम ५०० मिलिग्राम लागुऔषध ब्राउनसुगर सहित पक्राउ गरेको हो ।
यस्तै प्रहरी चौकी शरणामतीबाट खटिएको प्रहरी टोलीले मिश्रलाई ३ ग्राम ५०० मिलिग्राम लागुऔषध ब्राउनसुगर सहित मंगलवार दिउँसो पक्राउ गरेको हो । लागुऔषध सहित पक्राउ परेका उनीहरुको सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।
