
पूर्णपुष्टि, १८ मंसिर ।
चौदण्डीगढी ५ मा रहेको बेल्ही सिवाई जोड्ने पुल भत्किएर अलपत्र अवस्थामा छ । भत्किएको पुल दर्दनाक अवस्थामा रहेको भन्दै स्थानीयले आक्रोश पोखेका छन् । भत्किएको १४ वर्षसम्म पनि अलपत्र पुलको निर्मामाणमा चासो नदेखाएको भन्दै स्थानीयहरुले जनप्रतिनिधि र केन्द्रीय नेताहरुलाई चौदण्डी ५ मा प्रवेश रोक लगाएको हो । वडा नं ५ का अध्यक्ष तुलसी ढकालकै नेतृत्वमा निषेध घोषणाको तयारी भएको छ । अध्यक्ष ढकालका अनुसार प्रदेश तथा संघिय सांसद, केन्द्रीय नेताहरु र सडक बिभाग माताहतका उच्च अधिकारी सहितलाई वडा प्रवेशमा निषेध गरिनेछ ।
अध्यक्ष ढकालले आफूले दुई पटक यस क्षेत्रका संघीय सांसद डा. नारायण खड्कालाई भेटेर पुलको मर्मत सम्भारकालागि अनुरोध गरेको जनाए । सँगै भौतिक पूर्वाधार तथा यातायात व्यवस्था मन्त्रालयमा गत साउन १३ गते सर्वदलिय बैठक समेत गरेको थियो । हालसम्म पनि सुनुवाई नभएकोले बाध्य भएर संघर्ष समिति बनाएर नेताहरुका विरुद्धमा प्रवेश निषेध गर्नु परेको हो, अध्यक्ष ढकालले भने, दलका कुनै पनि केन्द्रीय नेता तथा सांसदहरुलाई वडा प्रवेश गर्न दिने छैनो ।
यसैगरी सो वडाका पूर्व वडाध्यक्ष देवनारायण चौधरीले पनि पुलको अभावमा सुन्दरपुर, सिवाई, हडिया र फत्तेपुरका स्थानीयले पनि वर्षा र हिउँदका समयमा ठूलो सास्ती भोग्नु परेको बताए । पुल मर्मत नहुँदा उक्त ठाउँका कार्यौ स्थानीय तथा यात्रुहरुलाई ठुलो समस्या परेको छ ।
