
पूर्णपुष्टि, साउन २७
कोरोना भाईरस संक्रमणको जोखिम बढ्दै गएकाले मध्यम तथा लामो दूरीका यातायात र राष्ट्रिय तथा अन्तर्राष्ट्रिय हवाई उडान अझै नहुने भएको छ । सरकारले यसअघि भदौ १ गतेदेखि खुला गर्ने निर्णय गरेको थियो ।
सोमबारको मन्त्रिपरिषद् बैठकले भदौ १५ गतेसम्मका लागि पुनः स्थगित गर्ने निर्णय गरेको छ । बैठकले कोभिड–१९ सङ्कट व्यवस्थापन केन्द्र (सीसीएमसी) को सिफारिसअनुसार भदौ १ गतेबाट खुला गर्ने भनिएका क्षेत्र थप १५ दिन नखोल्ने निर्णय गरेको हो ।
अन्तर्राष्ट्रिय सीमानाकालाई व्यवस्थित गर्दै आवतजावतमा थप कडाइ गरिने भएको छ । नेपाल–भारत सीमा आवतजावतका लागि १० वटा नाका मात्र खुला गरिने भएको छ । यसअघि २० वटा नाका खुला गरिएको थियो ।
अत्यावश्यक वस्तुको ढुवानीलाई यथावत् राखिएको छ । अत्यावश्यक ढुवानी सेवाबाहेक उपत्यका भित्रिने सवारी साधनको प्रवेशलाई समेत कडाइ गरिने भएको छ ।
उपत्यकामा सङ्क्रमितको सङ्ख्या बढ्दै गएपछि स्थानीय तहहरूले सङ्क्रमणको उच्च जोखिममा रहेका क्षेत्रलाई सिलबन्दी गर्न थालेका छन् । उपत्यकाका नगरप्रमुखहरूको सोमबार बसेको बैठकले स्थानीय तहबाट प्रदान गरिने अत्यावश्यक सेवाबाहेक अन्य सेवा १५ दिनका लागि बन्द गर्ने निर्णय गरेको छ ।
सरकारले यसअघि नै उपत्यकामा जोरबिजोर प्रणालीअनुसार निजी तथा सार्वजनिक यातायात सञ्चालन गरिसकेको छ । उपत्यकाको आवतजावतलाई थप व्यवस्थित बनाउन उपत्यका प्रवेश गर्ने यातायातलाई कडाइ गरिने भएको छ ।
आईतबार बसेको सीसीएमसीको बैठकले कोरोना सङ्क्रमणको जोखिम बढ्दै गएकाले छोटो, मध्य र लामो दूरीमा चल्ने निजी तथा सार्वजनिक यातायात, आन्तरिक तथा अन्तर्राष्ट्रिय व्यावसायिक उडान, खेलकुद प्रशिक्षण, विद्यार्थी भर्ना, भेला, तालिम, गोष्ठी, परीक्षालगायत मानिसको जमघट हुने कार्यक्रम भदौ १५ गतेसम्म स्थगित गर्न सिफारिस गरेको थियो ।
