
पूर्णपुष्टि, साउन ४ । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट भन्सार पास भएर बाहिरिएको करिब एक सय सुन प्रकरणमा हालसम्म ६ जना पक्राउ परेका छन् ।
यस प्रकरणमा एक भारतीय नागरिक सहित ६ जना पक्राउ परेको राजश्व अनुसन्धान विभागले जनाएको छ । विभागका अनुसार पक्राउ पर्नेमा ब्रेक शु आयातकर्ता कम्पनी रेडी ट्रेडर्सका सञ्चालक दिलिप भुजेल, सुन पास गराउन सहयोग गर्ने उनका मामा राम कुमार भुजेल र कम्पनी स्थापना गर्न सघाएका हर्कराज राई, थुप्तेन छिरिङ नाम गरेका तिब्बती मूलका भारतीय नागरिक, अन्य दुई जना भने भन्सार एजेन्ट र ट्याक्सी चालक रहेका छन् ।
मंगलबार क्याथे फ्यासिफिकको उडानमार्फत काठमाडौं आएको सुन बुधबार भन्सार पास भएको थियो । मोटरसाईकल र स्कुटरको ब्रेक शु भित्र लुकाएर ल्याईएको करिब सुन भन्सार पास भएर विमानस्थलको गेटबाट सुन लगिएको बा.२ ज २३२४ नम्बरको ट्याक्सीलाई बुधबार विभागले नियन्त्रणमा लिएको थियो । विभागले बरामद गरेको सुन तौलिन नेपाल राष्ट्र बैंकमा लैजाने तयारी गरेको छ भने बरामद उक्त सुन करिब एक सय किलो रहेको अनुमान गरिएको छ ।
