Tuesday, July 7News That Matters

भन्सारले त्रिभुवन विमानस्थलबाट १५१ थान मोबाइल सेट लिलामी बिक्रीमा राख्यो

पूर्णपुष्टि, पुष २२ । त्रिभुवन विमान स्थाल भन्सार कार्यालयले १५१ थान मोवाइले सेट यात्रुहरुबाट लिलामी बिक्रीमा राखेको छ । विमानस्थलले यात्रु जाँचपासको क्रममा अवैध रुपमा ल्याइएको मोवाइल फोनहरु नियन्त्रणमा लिएपछि तोकिएको समयभित्र सम्बन्धित धनी सम्पर्कमा नआएमा त्यस्ता मोबाइल भन्सारले लिलामी बिक्रीका लागि राख्ने गरेको छ ।

‘भन्सार नियमावली २०६४ को नियम ३५ को उपनियम २ मा भएको व्यवस्थाअनुसार शिलबन्दीको माध्यमद्वारा लिलाम बिक्री गर्नुपर्ने भएकाले इच्छुक संस्थाद्वारा यो सूचना प्रकाशन भएको मितिले १५ दिनभित्र गोप्य शिलबन्दी दरभाउपत्र आहृवान गरिएको छ’ भन्सार कार्यालयद्वारा जारी सूचनामा भनिएको छ । मोबाइलधनी समयमै भन्सार शुल्क बुझाउन नआएपछि विमानस्थल भन्सारको मुद्दा तथा लिलामी शाखाले मोबाइलहरु लिलामी बिक्रीका लागि सूचना जारी गरेको हो ।

लिलामी बिक्रीका लागि राखिएका ती १५१ मोबाइलको न्यूनतम मूल्य ९३ लाख ५४ हजार रुपैयाँ तोकिएको छ । लिलामीको ती मोबाइल खरिद गर्न चाहनेले भन्सार कार्यालयमा गई हेर्न सक्नेछन् । विदेशबाट फर्किने नेपाली नागरिकले आफूले चलाइरहेको मोबाइल मात्र ल्याउन पाउने व्यवस्था छ । सोभन्दा बढी ल्याएमा भन्सार शुल्क तिर्नुपर्दछ । तर तोकिएको समयमा भन्सार शुल्क तिर्न नगएमा र सम्पर्कमा नरहेमा भन्सार कार्यालयले सूचना सार्वजनिक गर्दै नियन्त्रणमा लिइएको मोबाइल लिलामी बिक्रीमा राख्ने गरेको छ ।