Saturday, June 27News That Matters

भारतको हस्तक्षेपले नेपाल बर्सेनि डुबानमा पर्ने गर्छ : गृह मन्त्री थापा

पूर्णपुष्टि, असार २९

गृह मन्त्री रामबहादुर थापाले भारतीय हस्तक्षेपले वर्षेनी नेपाल डुबानमा पर्ने गरेको बताउनुभएको छ । भारतको हस्तक्षेपका कारण वर्षाैँदेखि नेपालले क्षति व्यहोर्दै आएको र त्यसलाई रोक्न नसक्दा नेपाल डुबानमा पर्ने गरेको उहाँले बताउनुभयो ।

प्रतिनिधि सभाको राज्य व्यवस्था तथा सुशासन समितिमा गृह मन्त्री थापाले भारतले सीमा क्षेत्रमा बनाएको बाँधरुपी सडकले नेपालको तराई क्षेत्र डुबानमा पर्ने गरेको बताउनुभयो ।

भारत सरकारसँग पटक–पटक भएका सन्धि सम्झौताहरु कार्यान्वयनमा नआउँदा समस्या आउने गरेको मन्त्रि थापाले बताउनुभयो । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको नेपाल भ्रमणको बेलासमेत सहमति बनेको र अध्ययन समिति गठन भए पनि त्यो कार्यान्वयनको चरणमा जान नसकेको उहाँले बताउनुभयो ।

नेपाल हुँदै भारततर्फ जाने नदीलाई भारतले निकास नदिँदा समस्या भएको उल्लेख गर्दै गृह मन्त्री थापाले भारतले आफ्नो रक्षाको लागि बाँध बनाए पनि नेपालको राष्ट्रिय हितमा धक्का लागेको बताउनुभयो ।

भारतले नेपालसँग गरेको सन्धि र सम्झौता कार्यान्वयन गरी यसको निकास दिनुपर्ने पनि मन्त्री थापाले बताउनुभयो ।