
पूर्णपुष्टि, चैत ११
भारतले कोरोना भाइरसको सङ्क्रमण पुनः तीव्र रूपमा बढेपछि नयाँ निर्देशिका जारी गरिएको छ ।
भारतमा पछिल्लो २४ घण्टामा मात्रै ४७ हजारभन्दा धेरै कोरोना सङ्क्रमित थपिएका छन् भने दुई सय ७७ जनाको ज्यान गएको छ । गत जनवरीको अन्त्यतिर दैनिक नयाँ सङ्क्रमितहरूको सङ्ख्या घटेर नौ हजारसम्म पुगेकोमा भारतमा अहिले ४७ हजारभन्दा धेरै पुगेको हो ।
अघिल्लो हप्तादेखि नयाँ सङ्क्रमितहरूको सङ्ख्यामा एकाएक तीव्र वृद्धि हुँदै आएको तथ्याङ्कमा देखिएको छ । नयाँ निर्देशिका जारी गरिएको भए पनि लागू भने अप्रिलदेखि मात्रै हुने सरकारी अधिकारीहरूले जनाएको अन्तराष्ट्रिय संचारमाध्यमले जनाएका छन् ।
निर्देशिका लागू हुन थालेपछि देशभरि नै परीक्षणको दायरासमेत अझ बढाइने जनाईएको छ । भारतको गृह मन्त्रालयले निकालेको वक्तव्यमा देशका सबै भागमा कोरोना भाइरसविरुद्ध अपनाउनु पर्ने सबै मापदण्ड पालना गर्न गराउन आग्रह गरिएको छ ।
कोरोनाको परीक्षण, खोप लगाउने अभियानसँगै सामाजिक दूरी कायम गर्ने, मास्क लगाउने, नियमित हात धुने वा सेनिटाइजर लगाउनेलगायतका आधारभूत स्वास्थ्य सतर्कता पालना गर्न भारत सरकारले आग्रह गरेको छ ।
