Thursday, May 28News That Matters

भुल्केमा स्वाव लिइएका काेराेना संक्रमित ४ जना मोरङ, १ सप्तरीका, १२ भारतीय

पूर्णपुष्टि, बैशाख ११ ।

१ नं. प्रदेश सरकारले प्रदेश अन्तर्गत पुष्टि भएका कोरोना संक्रमित बारे जानकारी सार्बजनिक गरेको छ । उसले हालसम्म प्रदेशमा २८ जना संक्रमित भेटिएको जनाएको छ । जसमा २ महिला र २६ पुरुष रहेका छन् । जसमा १२ भारतीय (सबै पुरुष) र १६ जना नेपाली नागरिक (दुई महिलासहित) छन् । उनीहरु सबै उदयपुरको त्रियुगा नगरपालिका ३ भुल्केमा स्वाव नमुना संकलन गरी परिक्षण गर्दा पोजेटिभ भेटिएको जनाएको छ । भुल्केमा स्वाव संकलन गरिए पनि उनीहरुको ठेगाना भने फरक फरक रहेको पाइएको छ ।

प्रदेश सरकारले जनाए अनुसार १२ जना भारतीय, जो दिल्लीको विभिन्न ठाउँबाट आएका हुन् । ४ जना मोरङका, १ जना सप्तरीका र बाँकी सबै उदयपुर भुल्केका छन् । संक्रमित सबैजनालाई कोशी अस्पताल कोभिड १९ उपचार केन्द्रमा उपचार हुँदैछ । ती सबैको अवस्था सामान्य रहेको छ ।

हालसम्म प्रदेश १ मा ४ हजार ८ सय १३ जनाको कोरोना परीक्षण भएको छ । पीसीआर विधिबाट ८ सय ८४ जनाको परीक्षण भएको छ । त्यस्तै दू्रत परीक्षण विधि (आरडिटी) बाट विहीबारसम्म जम्मा ३ हजार ९ सय २९ जनाको नमुना परीक्षण गरिएको छ ।

प्रदेश सरकारले निर्माण गरेका क्वारेन्टाइन स्थलमा बस्नेको संख्या विहीबारसम्म कूल १ हजार ९२ जना पुगेको छ । २४ जना पुरुष डिस्चार्ज भएका छन् । आइसोलेसनमा स्वास्थ्यकर्मीको निगरानीमा ३० जना छन् । आइसोलेनसबाट १० जना डिस्चार्ज भएका छन् ।

होम क्वारेन्टाइनमा जम्मा ४ हजार ९ सय १० जना बसिरहेको मुख्यमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयले जनाएको छ । होम क्वारेन्टाइनमा बस्नेमा महिला ७ सय ९४ र पुरुष ४ हजार १ सय १६ जना रहेका छन् ।