
पूर्णपुष्टि, कार्तिक १४ ।
मदन भण्डारी फाउन्डेशन काठमाडौ र मदन भण्डारी स्मृती पार्क निर्माण समितिले नेपालको बाम तथा प्रजातान्त्रिक आन्दोलनमा योगदान तथा सहयोग पुर्याउनु भएकी एक बृद्धाको निधनप्रति गहिरो दुःख व्यक्त गर्दै आज श्रद्धाञ्जली अर्पण गरेको छ । सिरहाको धनगडी नगरपालिका १४ राईरैनी सर्रे आम्बासीकी ७७ वर्षिय बृद्धा बुद्धमाया सुनुवार राईको निधनप्रति दुःख ब्यक्त गर्दै श्रद्धाञ्जली अर्पण गरिएको हो । स्वर्गिय बृद्धा र उहाँको पति बलबहादुर सुनुवार राइले २०४६ साल भदौ ९ देखि १४ गतेसम्म जननेता मदनकुमार भण्डारीद्वारा प्रतिपादित जनताको बहुदलीय जनवादको आधार तथा संयुक्त जनआन्दोलनको कार्यदिशा तय गर्न सफल तत्कालिन नेपाल कम्युनिष्ट पार्टी माक्सवादी लेनिनवादको ऐतिहासिक चौथो राष्ट्रिय महाधिवेशन सम्पन्न गर्न सुरक्षित स्थल उपलब्ध गराएका थिए । उहाँहरुले आफ्नै घरमा मदन भण्डारी र महाधिवेशन प्रतिनिधिहरुलाई आश्रय दिएर सहयोग गरेका थिए । त्यतिमात्र नभई त्यहाँको ऐतिहासिक महत्वलाई मेटिन नदिन राई दम्पत्तिले विशेष भूमिका खेलेका थिए ।
पार्क निर्माण समितिका सहसंयाेजक भागवत राउतको नेतृत्वमा उदयपुर जिल्ला समन्वय समितिका प्रमुख खड्ग परियारसहितको टोलीले वहाँको तस्बिरमा फुल अबिर चढाई श्रद्धाञ्जली अर्पण गरेका थिए । वहाँको परिवारलाई फाउन्डेशन र पार्क निर्माण समितिको तर्फबाट १० हजार किरिया खर्च र श्रद्धाञ्जली पत्र प्रदान गरिएको थियो । समिति सदस्य राउतले राई दम्पत्तिले सदैव उच्च कदर हुने योगदान गरेको बताउनुभयो । “स्वर्गिय आमाको योगदान र सहयोगको उच्च सम्मान गर्दै आज श्रद्धाञ्जली अर्पण गरेका हौं ।” उहाँले भन्नुभयो ।
संघीय साम्सद सुरेश चन्द्र दास, प्रदेस सभा सदस्य मदन सेन श्रीबास्तब, नगर प्रमुख हरि नारायण चौधरीसमेेतले बाम तथा प्रजातान्त्रिक आन्दोलनमा योगदान पुर्याएको प्रति उच्च सम्मान गर्दै स्वर्गिय राईप्रति श्रद्धाञ्जली अर्पण गरेका थिए ।
हाल उक्त ठाउँमा बृहद उद्देश्यका साथ मदन भण्डारी स्मृती पार्क निर्माण भईरहेको छ । पार्क निर्माण समितिले स्थल संरक्षण तथा आधारभूत संरचनाहरु निर्माणको काम अगाडी बढाइसकेको छ । घेराबेरा, विश्रामघर, प्रवेशद्वार, पालेघर लगायतका काम भइसकेका छन् । उक्त ठाउँमा मदन भण्डारीले आश्रय लिएको घर तत्कालिन अवस्थामा जस्तो थियो त्यस्तै अवस्थामा संरक्षण गरी राखिएको छ । उक्त घर र जग्गा राई दम्पत्तिले नै मदन भण्डारी स्कृति पार्कका लागि उपलब्ध गराएको थियो । समितिले मदन भण्डारीले आश्रय लिएको राई दम्पत्तिको घरलाई पहिलेकै मौलिकरुपमा सुरक्षित राख्न र पार्क निर्माण गर्न उचित दाम उपलब्ध गराएको थियो । हालसम्म पनि राई परिवारले पार्क सुरक्षा र संरक्षणमा सहयोग पुर्याईरहेका छन् ।
तस्विरहरू :





