Friday, May 22News That Matters

मरेको हात्तीमा क्षयरोग, परीक्षण सुरु

पूर्णपुष्टि, भदौ ८

चितवन राष्ट्रिय निकुञ्जमा मरेका हात्तिमा क्षयरोगको जीवाणु देखा परेपछि जिउँदो हात्तिको परीक्षण सुरु गरिएको छ । मरेको हात्तीमा क्षयरोगको जीवाणु देखिएकापछि सौरहाका हात्तीमा क्षयरोग परीक्षणका लागि नमुना सङ्कलनको काम सोमबारदेखि सुरु गरिएको हो ।

हात्तीको नमुना सङ्कलन गर्न चारदेखि पाँच दिन लाग्ने निकुञ्जले जनाएको छ । निकुञ्जमा अहिले ५९  हात्ती रहेका छन् । सन् २००२ यता क्षयरोगका कारण निकुञ्जका १५ वटा हात्ती मरेका छन्  । यो अवधिमा अन्य कारणसहित २५ हात्ती मरेको तथ्याङ्कले देखाएको छ ।

हात्तीमा पहिलो पटक सन् २००२ मा क्षयरोग देखिएको थियो । त्यतिबेलाको सङ्क्रमण सन् २०१६ सम्म रहेको थियो । त्यतिबेला निकुञ्जका १७, निजी ४१ र राष्ट्रिय प्रकृति संरक्षण कोषका दुई वटा हात्तीमा क्षयरोग देखिएको थियो ।

त्यसपछिका केही वर्ष सङ्क्रमण नदेखिए पनि सन् २०१८ यता क्षयरोगका कारण चार हात्ती मरेको अनुमान गरिएको छ । गत साउन १९ गते मरेको दीपेन्द्रगजमा क्षयरोगको सङ्क्रमण पुष्टि भएको थियो । यसअघि मरेका तीन हात्तीको पोस्टमार्टमका क्रममा फोक्सोमा समस्या देखिएकाले क्षयरोगको सङ्क्रमण भएको अनुमान गरिएको थियो ।

नमुना परीक्षणमा क्षयरोग देखिए तत्काल उपचार गरेर हात्तीलाई निको पार्न सकिने भएकाले सबै हात्तीको परीक्षण गरिने जनाईएको छ ।

निकुञ्जका हात्ती विभिन्न पोस्टमा सुरक्षाका लागि राखिएका छन् भने निजी हात्ती पर्यटक बोक्नका लागि होटलले प्रयोग गर्दै आएका छन् । निकुञ्ज हात्ती सफारीका लागि अन्तर्राष्ट्रिय रुपमा प्रख्यात छ ।