
उदयपुर, माघ ७ गते
आगोले शरिरको ४५ प्रतिशत जलेको उदयपुरका एक बिरामीलाई काडमाण्डोको किर्तिपुर हस्पिटलले घर फर्कायो । एक हप्ता भित्रै बिरामी मर्ने कुराको संकेत सहित बिरामीलाई घर पर्कायो । एक प्रतिष्ठित अस्पतालले हप्तादिन भित्रमै छोरा मर्ने कुरा सुनाएपछि विरामीको परिवार निरास हुदै घर पर्किए ।
उदयपुरको रौतामाई गाउँपालिका ३ लाफागाउँका १८ वर्षिय युवा हेमबहादुर पाठकलाई किर्तिपुरले फर्काई दिएपछि मरेपनि अस्पतालमै मरोस् भन्दै परिवारले पुस २८ गते घरको सट्टा जिल्ला अस्पताल उदयपुरमा भर्ना गराए । सास रहुन्जेल आश रहने भन्दै बिरामीकको परिवारले जर्वजस्ति जिल्ला हस्पिटल उदयपुरमा सामान्य भएपनि उपचारको लागि अनुरोध गरे । बिरामीको अवस्था नाजुक भएपनि हस्पिटलले अफुले सक्ने उपचार गर्ने भन्दै बिरामीको भर्ना लिए ।
परिवारको अुनरोधमा अस्पतालले राखेको विरामीलाई अस्पतालले राम्रो हेरचाह, ड्रेसिङ तथा सक्दो उपचार गरेपछि विरामीको अवस्था अहिले निकै सुध्रिदै गएको विरामीका बुवा पर्वत पाठकले बताउनुभयो ।
ट्याक्टर चालक रहेका पाठक साहुको आदेशमा ट्याक्टर मर्मतका लागि गत पुस १८ गते इनरुवा गएका थिए । पानी परेसंगै चिसो बढेकाले आगो बाल्न पुरानो मोविल खन्याउने क्रममा जर्किननै विष्फोट भएको थियो । त्यसबाट उनको अगाडीपट्टिको भाग शिरदेखि खट्टैसम्म जलेको थियो । उनले लगाएका कपडासमेत जलेको थियो । छेउछउका मानिसहरुले उनीमाथिको आगो निभाए पनि धेरै मात्रामा उनको शरीर जलेको थियो । पाठकले ट्याक्टरमा उदयपुरदेखि खोटाङसम्म सामान ढुवानीको काम गर्दै आएका थिए ।
विरामीका भिनाजु हेमबहादुर राउतका अनुसार विरामीलाई उपचारार्थ तत्कालै धरानस्थित विपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान लगिएको थियो । त्यहाँबाट भोलीपल्टै किर्तिपुर हस्पिटल लगिएको थियो । परिवारको आर्थिक अवस्था अति नाजुक रहेको र अस्पतालले पनि माया मारेकाले फर्काएर जिल्ला अस्पतालमा राखेको विरामी छोरोको अवस्था सुधार आएपछि परिवारमा छोरो बचाउने आशा जागेको छ । विरामी युवा राम्ररी बोल्न, घटना विवरण भन्न सक्ने भएका छन् । खानसक्ने, दिसा, पिसाव गर्न सक्ने भएका छन् । अव चन्दा उठाएर भएपनि बचाउन परिवार जुटेको विरामीका बुवा पर्वतले बताउनुभयो ।
अव, उनलाई फेरी पनि राम्रो हस्पिटल लैजान जिल्ला अस्पतालले सुझाएको छ । जटिल अवस्थाको स्वास्थ्य स्थितिमा सुधार आएकाले राम्रो जनशक्ति, स्रोत, साधन र प्रविधि भएको अस्पतालमा उपचार गराउन सके विरामी निको हुने जिल्ला अस्पताल उदयपुरका प्रमुख डाक्टर निमित्त मेडिकल सुपरिटेण्टेन्ट डा. जीव नारायण खण्डलले बताउनुभयो ।
परिवारले तत्कालै युवालाई उपचारका लागि राम्रो हस्पिटल लैजान चाहेको भएपनि आर्थिक अभावका कारण लैजान नसकेको जनाएको छ । रिण, साहु र चन्दा संकलनबाट काठमाडौंसम्म उपचार गराउदा अढाई लाख बढि खर्च भएको थियो । अहिले रिण माग्ने ठाउँसम्म नभएपछि छोरोको उपचारका लागि आर्थिक सहयोग र चन्दा उठाउने सोच परिवारको छ । “अब, चन्दा संकलन गरेरै भएपनि छोरा बचाउनुछ, सबैसंग सहयोगको आग्रह गरेको छु ।” वुवा पर्वतले भन्नुभयो । उपचार खर्च जुटेमा आफु बाँच्न सक्ने भन्दै विरामी स्वयम् हेमबहादुरले आर्थिक सहयोगको याचना गर्नुभयो । “म बाँच्न चाहन्छु, उपचार खर्च भएमा म बाँच्नसक्छु । मलाई सहयोग गर्नुहोस् ।” उहाँले भन्नुभयो ।
